• १३ साउन २०८१, आइतबार

डडेल्धुराको समैजीमा विमानस्थल निर्माणका लागि प्रभाव मूल्याङ्कन गरिने

blog

प्रारम्भिक अध्ययनका लागि अन्तिम पटक समैजी पुगेको प्राविधिकसहित अमरगढी नगरप्रमुखको टोली । तस्विरः पुष्कर भण्डारी ।

पुष्कर भण्डारी 

डडेल्धुरा, भदौ ७ गते । डडेल्धुराको समैजीमा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको छ । प्रारम्भिक चरणमा तीन पटकसम्म प्राविधिक अध्ययन गरिसकेपछि अब ईआईएको प्रक्रियामा लैजाने तयारी थालिएको हो । 

अजयमेरु गाउँपालिका –१ समैजीमा विमानस्थल निर्माणका लागि एक दशक अघि देखि प्रक्रिया बढाइएको थियो । प्रारम्भिक चरणमा अध्ययन गर्दा एक हजार मिटरदेखि १५ सय मिटरसम्मको धावनमार्ग बनाउन सकिने सम्भावना देखिएको छ । उग्रतारा–मेलौली सडकखण्डमाथि सडकसम्मै स्थल पुग्ने गरी गरिएको अध्ययनमा एक हजार मिटर लामो धावनमार्ग बनाउनु वा १५ सय मिटर बनाउने भन्ने यकिन गर्न सकिएको छैन । 

यस क्षेत्रमा बालकल्याण मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र पुईलेक बजार क्षेत्रका संरचनाहरु रहेका छन् । एक हजार मिटर लामो धावनमार्ग मात्रै बनाए विद्यालयलगायतका अन्य संरचना अधिग्रहण गर्न नपर्ने देखिएको अमरगढी नगरपालिका नगरप्रमुख डिल्लीराज जोशीले बताउनुभयो । १५ सय मिटर लामो धावनमार्ग बनाइए विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र पुईलेक बजारका संरचना अधिग्रहण गर्नुपर्ने प्राविधिक अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो । 

समैजीमा गरिएको अध्ययनअनुसार दुईतर्फी ल्याण्डिङ्ग हुने देखिँदैन । दक्षिण तर्फबाट मात्रै ल्याण्डिङ्गको सम्भावना देखिएको प्राविधिक अध्ययन गरिरहेको आईएफआईडि नेपालका इञ्जिनियर स्मरण भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, कटिङ्ग धेरै गर्नुपर्ने देखिएको छ । विमानस्थलको चौडाई भने १५० मिटरको हुने उहाँले बताउनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ सय मिटरको धावनमार्ग बनाउँदा करिब चार अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरेको छ । एक हजार मिटर लामो मात्रै धावनमार्ग बनाउँदा करिब डेढ अर्ब रकम खर्च आउने अनुमान प्राधिकरणले गरेको विमानस्थल निर्माणमा अगुवाई गर्नुभएका समाजवादी पार्टीका नेता डा. तारा जोशीले बताउनुभयो ।

प्राधिकरणले गत वर्ष नै विमानस्थल निर्माणको काम अघि बढाउन पाँच करोड रकम विनियोजन गरेको थियो । उहाँले भन्नुभयो, ‘‘प्रारम्भिक चरणको प्राविधिक अध्ययन नै नसकिएकाले काम अघि बढ्न सकेको थिएन । अब ईआईएको चरणमा जाने र चाँडै ईआईए भएपछि विमानस्थल निर्माणको काम अघि बढ्छ ।’’ 

समैजीमा विमानस्थल बन्ने खबरले स्थानीयवासी खुसी भएको वडा अध्यक्ष दत्ति भण्डारीले बताउनुभयो ।