• १३ साउन २०८१, आइतबार

सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिनेछ: भूमिसुधार मन्त्री श्रेष्ठ

blog

भेटघाटमा भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ ७ गते । भूमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने योजना बनाएर कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । उहाँले कोही पनि मानिस भूमिहीन र सुकुम्बासी नहोस् भनेर सरकारले सबैलाई जग्गा उपलब्ध गराउने अभियान थालेको बताउनुभयो । 

नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भूमिहीन र सुकुम्बासीको पहिचान गरेर उनीहरुलाई जग्गा उपलब्ध गराउन नै जिल्ला जिल्लामा आयोगको शाखा गठन गरेर कामलाई तीव्र पारेको जानकारी गराउनुभयो ।  

उहाँले सरकारले जनतालाई सुविधा दिन नापी र मालपोत कार्यालयहरु पनि स्थानीय तहसम्मै पुर्याउने लक्ष्य लिएको बताउनुभयो । 

सोही क्रममा लामो समयदेखिको जनताको मागलाई ध्यानमा राखेर एक हप्ताभित्रै नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरमा स्थापना गर्न नापी र मालपोत कार्यालय बाँकेका प्रमुखलाई मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । 

मन्त्रालय र विभागले गर्ने सबै प्रक्रिया पूरा भइसकेको जनाउनुहुँदै उहाँले तत्काल कार्यालय स्थापना गर्न निर्देशन पनि दिनुभयो । 

सो अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले मन्त्रीसँग नापी र मालपोत शाखा कार्यालय स्थापनामा ढिलाई भइरहेको गुनासो गर्दै तत्काल स्थापना गरिदिन आग्रह गर्नुभएको थियो । 

मन्त्री श्रेष्ठसँग लुम्बिनी प्रदेशका सांसद एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी नमूना, केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेलगायतका नेताहरुले भूमिहीन र सुकुम्बासीका समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभएको थियो । 

सोही अवसरमा भूमि आयोग, बाँकेका अध्यक्ष श्रवणकुमार यादवले मन्त्री श्रेष्ठसँग भेट गरेर जिल्लाको भूमिहीन समस्याबारे अवगत गराउनुभएको थियो । 

यसैबीच, मन्त्री श्रेष्ठको निर्देशनपछि मालपोत कार्यालय बाँकेले भदौ १५ गते भित्र कोहलपुरमा शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।