• १३ पुस २०८१, शनिबार

पाँडे पुराण

वैतरणी तर्दाको यात्रा संस्मरण

blog

अहो ! कसरी तर्नु ? कालो नीलो रै’छ ! वैतरणी कसरी तर्नु ? लौन के गर्नु ? हे भोला ! उपाय के होला ? यसबाट कसरी मुक्त हुने होला ? अर्काे बाटो भए लामै भए नि बरु बिस्तारै हिँडेर भए पनि तर्ने थिएँ । कस्तो भयो नि ? लौन कोही छ यो बाटो 

हिँड्ने ? लौन प्रभु मलाई वैतरणी तारी दिनु प-यो । कोही छ यहाँ ?

जिन्दगी भर अनेक गरियो । कमसे कम मर्दा त सुख शान्ति पाउनु प-यो ! कत्रो कष्टले यहाँ आइयो । आउनुअघि अस्पातललाई झिटिगुन्टा बुझाइयो । धरोधर्म वैतरणी तार्नेलाई मसँग भुटी भाङ छैन । म त रणभुल्लमा छु । 

अहो ! यहाँ त एउटा पुल पनि रहेनछ । न त तुहिन नै । हैट ! तुहिन भए पनि म त जादिनँ बाबा । कतै बीचमा पुग्दा आफ्नै विश्वासको मित्रले तुहिन काटी दिए भने सोझै अर्कै लोक । तिनलाई सजाय कस्ले गर्ने ? सजाय गर्ने नै कुन मुसोको दुलोमा छ पत्तो छैन । यम लोकमा धन्न यति त निगाहा गरेका रहेछन् । यो तर्ने गोदानको योगदान कसैले गरेन । 

आफू के हिँड्नु भनेर साइकल समाएर लौरो लिएर राजनीतिमा लागेपछि बलेरो, पजेरो केके जाति चढेको मान्छे ! गाडी न साडी एक्लै दौडी भनेझैँ भो । मलामीमा त थुप्रेका थिए । यहाँ आपत् पर्दा कसले हेर्ने होला ? उल्टै मसानमा समेत सान देखाउँदै अन्टसन्ट गफगाफ गरी दङदास देखिए । आपत्विपत् पर्दा वैतरणी तर्न मद्दत गर्ने कोही देखिएनन् । ‘पीडित पति श्रीमान्सँग बोलाउ भने आफू त्यस्तो पीडित भइएन । मानव अधिकार गुहारौँ भने मान्छे मार्नेलाई बचाउँछ भन्ने कहावतले ती असत्तिलाई कुम्भीपाकमा डुबाउन छोडी तिनलाई यहाँ छिर्न के दिन्थे ! आफ्नो दलको नेतालाई गुहारौँ भने वैतरणी तर्दा कुनै सोर्स फोर्सले जहाज चलाउन नपाउने, जीवनभर नेताको पुच्छर लागे पनि वैतरणीमा त गाई कै पुच्छर नसमाई नपुगिने । हे प्रभु ! गाडी नै सँगै ल्याएको भए पनि पुल नभएपछि कसरी पारि पुग्नु ?

हाम्रा नेता पनि कति बाठा ! यही बुझेर रेलदेखि पानीजहाजका कुरा गर्न के पछि पर्थे । तर पानी खान दिन नसक्ने नाथेले पानी जहाजभन्दा पत्याएनन् र पो ! अझ वन विनास गरी हवाईजहाज नै चढ्न मरीहत्ते गरेको हेर्दै छु ।

दैलामा यमदूत देख्नेबित्तिकै पहिला नै क्याप समाएर टाप ठोक्ने सोच कत्रो दूरदृष्टि ! पाएसम्म चोर्नेले चोरौँ, सोर्नेले सोरौँ । हेलिकप्टर त तिनले आफ्नै दैलामा पैला नै हेलिप्याड बनाइसकेकै हो । त्यसकै लागि के जाति प्याडको बिजिनेस गरेर प्याड निचरेर प्यास मेट्नेलाई सम्पत्तिमा कसले भेट्ने ? तर तिनलाई के पत्तो वैतरणीमा कुनै साधन काम छैन । नर्क कुण्डमा हेलि नै पर्छ । गाईको पुच्छर समाएर तर्न पनि धर्म मासिसके । आफ्ना पछि लाग्ने कुकुर ल्याउन पनि त्यसले तार्दैन । यहाँ केही देखिन्न यस्तो हुन्छ भन्ने थाहा पाएको भए गाईको बगाल नै ल्याउनुहुन्थ्यो । समस्या पर्नेलाई सप्लाईको बिजिनेस गरौँ भन्दा पनि नेताकै छोरो तगारो । गठबन्धन भने पनि यसको उल्टो ‘ठगबन्धन’ भने पनि कुम्ल्याउने बिजिनेस मरिगए टुट्दैन । 

सोच्दै थिएँ मेरै मित्र आइपुगेछन् । उनले बिलौना गरे गाईको टेन्डर हालेको यहाँ ल्याउँदा त गधा परेछ । गाईको कमिसन खाएर गधा पो ल्याएछन् । परेन फसाद । यहाँ मुद्दा हालौँ भने पनि दुवै चार खुट्टे भएकाले यसलाई हेर्नु नपर्ने भन्न बेर छैन माथ्लो न्यायाधीशले । हैन गधाको सिङ छैन भनेर पुनरवलोकन गर्न भनौँ भने यसका मतियारले नक्कली सिङ हाली दिन बेर छैन । अब सिँगौरी कोसँग खेल्ने । यिनलाई त पाता कसेर नर्क कुन्डमा नहाली चेत बाबा हुने कसरी ? 

अहो ! ती त यो बाटो बिर्सेर जिउँदै स्वर्ग जाने दाउले आफ्नो बन्दोबस्ता गरिसकेका हुन् । जानु पर्छ भनेर ठूलठूला गाडी मात्र हैन जहाज नै किन्न थालेका हुन । ठूलाठालु त जेटबाट हिँड्ने भए । केही नभए यमद्वारमा भन्सार जस्तो घुस्याहाको चौकी भए हेलिकप्टरबाट वैतरणी तर्दा होलान् । पछिकाले त जहाज नै कल्पना गरेर धमाधम पैसो जम्मा गरेर अरबमा पैसा कमाउन नगई यहीँबाट अरब अरब जम्मा गरिसके । काठको खराउ नपाउनेले सम्पत्ति पनि केके जोडिसके । तिनलाई त वैतरणी तर्न पनि आफ्नो सम्पत्ति लाद्न सानो तिनो डुङ्गाले कहाँ भ्याउनु ? यिनको पुर्पुरोमा गोरुसमेत ब्याउनु नै अचम्म ! यो राष्ट्रमा धृतराष्ट्र पो बढेछन् ! 

आफू पदमा भ’का बेला आफ्ना श्रीमती, साला, चिया खुवाउने भट्टीवाल्नी, लोटा लिन पछि नपर्ने टट्टीवाल्नी जो जतिलाई पद दिलाए ती पनि पछि लाग्ने भए । अनि सानोतिनो सवारी साधनले पुग्छ र ? 

तिनको नगद र गरगहना मात्र बोकेर जाँदा पनि भुँडीको भार थाम्न नसकी डुङ्गा डुब्छ भने लाखौँ लाखको सुत्ने बिस्तरा, जग्गा र ठूलाठूला अपार्टमेन्ट, सुपरमार्केट, पार्टी पालेस, होटेल, रेस्टुराँदेखि जग्गा जोडेको कागज र नगदको खात आफ्नो साथ लैजान मात्र लिएर जाँदा पनि सानोतिनो जहाजले के भ्याउँथ्यो ? भारी बोक्ने उडाउने कार्गाे जहाज नै चाहियो । त्यसमाथि क्वाटर बस्दा लगेको लुगा धुने, भाँडा धुनेदेखि अगाडि पछाडि धुने लोटा बोक्नै प¥यो । अरूलाई राख्न दिएको पनि छोड्नुभएन । सब बटुलबाटुल पारेर मरेपछि लान पाइन्छ भनेर आफ्नो इज्जत, ज्यान सबै फालेर गरेको कामको कदर यो यमराजको राज्यमा काम लाग्दो रहेनछ बा ! 

लौन के भाम्तो आइलाग्यो । आफ्नो भने पक्की पुलसमेत जिउँदै नर्क लाने छन् । बनाउन पाएका छैन, पुलको ढाड भाँचिएपछि ठेकेदारको ढाड कसले सोझ्याउने ? कमसेकम अलि बलियो व्यवस्था गरेको भए आशीर्वाद दिनुहुन्थ्यो । ठेक्का दिएछन् आफ्ना मान्छेलाई । स्वीकृतिको कमिसन, डोरी किन्दाको कमिसन, स्टिमेट इन्जिनियरिङको कमिसन, ढुवानीको कमिसनले पुल कमजोर प¥यो । धन्न छोटो परेन छ । उसै त शत्रु वध नगरेर मौका छोपी डोरी काट्ने डाँका कति बेला आएर वैतरणीमा बगाइदिने हुन । क्या गज्जब ! हे निर्माणका ठेकदार नेता हो ! तिम्रो पनि त अन्तिम बाटो यही हो । कस्तो नबुझेको भन्या ? निर्माणको लट्ठा नै ढलेपछि के सन्तानको नाक ठाडो होला ? के चेतन सबै सकियो ? नगदको तेजले ज्ञान चक्षु तिरमिरायो ? सामान्य ज्ञान पनि हरायो ? वैतरणी तर्ने पुलको ठेक्का नमाग है आफ्नो ठाउँमा त उद्घाटन अघि नै पुल भाँचियो । वैतरणीमा त यसो गरे मत्र्यलोकको लुते नेता जस्तो हैन । यमराजको प्रशासकले घाँटी समाउँछन् । घुस खाएर सजाय नगर्ने काम हुँदैन । चित्रगुप्तले सजाय सुनाउँछन् । यस्तो कुराको चुरो पत्तो पाए मात्र पनि यमराजले ढाड सेकेर नर्क बास गराउँछन् । 

वैतरणीमा पनि उहिले भए गाईको पुच्छर समाएर पारी पुगिन्थ्यो । त्यही गाईको दूध खाएर हृष्टपुष्ट भइन्थ्यो । अहिले असिद्धिहरूले गाईलाई देखिसहेनन् । धर्ममाराले सारा सत्य सिध्याए । धन्न वैतरणीमा तर्दा ट्याक्स असुल्ने भुँडे भरौटे राखेको रहेनछ । त्यहाँ राखेको भए जे त पर्ला भनेर त्यही भीरबाट मुन्ट्याइदिने थिए । 

यसो हेर्छु, कोही देखिएनन् । के गर्नु मैले मात्र स्वर्ग पुग्न वैतरणी तर्नुपर्ने ? यो पनि हुन्छ ? कतै यहाँ पनि अर्काे वैकल्पिक बाटो त बनाएनन् ? मेरो त त्यसै त्यसै खुट्टा काम्न लागे । यो थाहा पाएको भए पापी नेतालाई अघि लाउने थिएँ । नेताले झुक्याएछन् । सोझो देखेर ठग्नसम्म ठगे । अहो ! वैतरणीको किनार बगरमा त बोकै बोका पनि रछन्– लाइन लागेका । किन यहाँ ? भन्दा कुखुराको बगालबाट रातो भाले बासेर भन्यो– दलका नेताले भोजमा सिध्याएका, मासुभात डकुल्याएका पीडित हाँै । यसोउसो ग¥यो ठाडै बोका, खसीमा मारप¥यो ! बथान जति सिध्याए पनि तैँ चुप मै चुप ! दानीको आमदानी गुप चुप ! 

पहिला भएको भए राजा स्वर्ग बास भएपछि स्वर्गमा लान पाले पहरा, धाई सुसारेजस्तै अहिले नेताको वरिपरि भन्कने र बेलाबखत सन्कने सल्लाहकारदेखि पत्रकारसम्म मन्त्री पद खुस्केपछि एकै चिहानमा पुर्नुपर्ने थियो । आफ्नो लागि त भनिहालेँ नि कसैले गाडी, कसैले जहाज र कसैले हवाईजहाज नै जोडिसकेछन् । एकै पल्ट स्वर्ग पुग्ने दाउ ! कति छिटो यिनको बढेको भाउ ? हेर्दाहेर्दै करोडौँ पर्ने गाडी चढेर एउटा भँुडेवाल भुँडी पल्टाउँदै आए– अहो ! यो वैतरणीमा त अझसम्म गाडी बाटो बनेकै रहेनछ । के गाडी जाने बाटो छैन ? त्यहाँ चित्रगुप्तको अभियन्ता रहेछन ठाडै जवाफ जमाए– हैन यो भुँडे के भन्छ ? यहाँ त एकद्वार प्रणाली छ । वैतरणीबाहेक कतैबाट जान मिल्दैन । त्यो मन्त्री रहेछ के कम ? म मन्त्रीको मर्यादा राखेन, मलाई रोक्ने को हो यो ? के हो मर्यादाक्रम ? त्यो अभियन्ताले भन्यो, अहो ! मन्त्रीज्यू ! पख्नोस्, तपाईं माला व्यापारी । नेतालाई माला लाउँदै पद पड्काउनुभएको रेकर्ड यो बहिखातामा छ । पख्नोस्, म माला ल्याउँछु । अभियन्ताले माला लगाइदियो र चप्पलले गालामा तोरीको फूल देखिने गरी चड्कायो । ल यसले गाडीमा जान्छु भन्छ– वैतरणीमा गाडीसमेत गाढिदिनु केही समय बुद्धि नफिरुन्जेल नझिक्नु । 

यो बाटोको अर्काे विकल्प छैन । के गर्नु ? स्वर्गमा यात्रा उहिलेदेखि चलेको अहिलेसम्म विकास भई निकास निस्किसक्नुपर्ने । कम्तीमा एउटा स्टिमर भएको भए कति सजिलो हुन्थ्यो होला ! पुल हाल्नैपर्छ भनेर जुलुस निकाल्न पनि यमलोकमा सकिने कुरो भएन । मत्र्य लोकमा अनेक बदमासी बढेपछि यमलोकमा भीड पो लागेछ । कसलाई वैतरणी तार्ने कसलाई सोझै पारी झार्ने ? आफ्नो कुरा गर्दा भने पक्की पुल हाल्ने कुरो त सिटामोलको चक्की दिन नसक्नेले के हाल्ला ?

खलपœयाइस ! लुट्नसम्म लुटिस् । अनकन्टारमा कटेरो कुटुरोमा बुकुरोमा बस्नेले दस वर्षमै महल ठड्याइस, कति जग्गा उडाइस्, कति नगद लुँडाइस् । आफ्नो ठाउँमा तुहिन हाल्न सकिनस् । थुक्क बजिया ! भ्युटावर र पार्क भन्दै नोट गन्दै बसिस्, यहाँ राजमार्ग खोज्ने ? यस्तालाई जनताले बङ्गारा नझारी छोडेछन् ! 

नजिकै एउटा समाज सेवीले भन्यो– जागिर, पद, तक्मा, पुरस्कार पनि आफ्नै अरौटे भरौटेलाई दियो । लिने पनि उस्तै लटठी टेकेर बल्ल प्रतिभा पुरस्कार माग्नेले झैँ थाप्दा म त भरखरको प्रतिभा हैन म त प्रतिभा जन्माउने ज्येष्ठ वरिष्ठ हुँ भन्न नसकी फोटोमा तन्केको देख्दा कतै सन्केको त हैन भन्नुपर्ने भएको छ । राजदूत होस् कि कुलपति जति पद पहिला दियो पछि लियो । के दियो के लियो चित्रगुप्तको खाता नहेरी कहाँ खुल्छ ! आफ्नै बाबुको बिर्ता जस्तो ग¥यो । देशमा योग्यलाई पाखा लगायो । यसलाई त गुह्यकुण्डमा डुबाउनुपर्छ ।

आफ्नो देश नै स्वर्ग समान ! हुन त यहाँको जङ्गल मात्र होर ढुङ्गा गिटीसमेत डाँडै भस्काएर खत्तम पारेर झन्डै मरुभूमि पारे । न राम्ररी खेती गरेर पेट भर्न दिए, न आफैँ उम्रने घाँसमा पशुलाई चर्न दिए । एक गाँस खाना, एक धरो नाना, मातृभूमिको गाना सुन्न पाए अरू के चाहियो ? भन्न त सुनको छाना, फाइभ स्टारको खाना, सबै ठूला कोही हुने छैनन्, साना भनेर भोट हालेको नेताले सबै आफ्ना लागि भनेका रै’छन् । तिनका नसनाता सबै स्वर्गमा बसेभन्दा बढी । हामीलाई चाहिँ बोल्यो कि छडी कि हत्कडी ! स्वर्ग जस्तो देश नर्क नै पारेपछि नर्क नै किन जानु प¥यो । वैतरणी तर्ने बेलामा पनि यिनैलाई सुख सुविधा ? यो हुन सक्तैन यमराज महाराज ! यी दूतले जे गरे ठीक गरे ।

वैतरणी त तर्नै प¥यो । नत्र पारि कसरी पुग्ने ? आफूसँग केही उपाय रहेन । एउटा भटभटे चढ्नेसम्म भएन । जिन्दगीभर हातमुख जोर्ने कोते धन्दा गर्दै सकियो । उहाँ भने ठूला हुन भन्छन्, राम्रोमा गन्छन् । संस्थाले गर्ने काम व्यक्तिले ग¥या हो भन्छन् । तिनलाई के थाहा वैतरणी आउँदासम्म एउटा भटभटे पनि पाइएन । यो मुख्य प्रमुख अन्तिम स्वर्ग द्वार । कमसे कम यहाँ त निगाहा हुनु पथ्र्याे ?

बल्लतल्ल वैतरणीको किनारमा पुगेको मान्छे । दुःखकष्ट गरेर यहाँसम्म आइपुगेको । हेर्दै थिएँ वैतरणीको कालोमुस्लो खौलो । त्यहाँ त डोरी बाल्ने बलियो मौलो पनि नास्ती ! अनि भएन सास्ती ? जिलमाथि चकजिल पर्दै सोचे सबै जनाले, तर्नैपर्ने यो बाटो त बनाइराख्नु पथ्र्याे । केही नभए नि सजिलोसँग त आउन पाइन्थ्यो । हाम्रा नेताको दूरदृष्टि भ्रष्ट भएको प्रमाण यही हो । वैतरणी तर्न जहाज होस् कि हवाईजहाज, हेलिकप्टर होस् कि पक्की पुल केही हुँदैन । केवल गाईले मात्र पारि पुगिन्छ भन्ने तिनको ब्रह्मज्ञान किन भएन । यस्तो महìवपूर्ण कुरामा कुनै विद्वान्ले पोस्टाचार्य हुने काम गरेन । भएन अब ?

विद्वान् पनि के भन्नु । यसमा पनि कामअनुसार वर्गीकरण गर्नुपर्ने भयो । स्याल जस्तो भएर साँढे जस्तो नेताको पछि खस्ला र मुखमा पस्ला भनी दगुर्ने झालेमाले स्याले बुद्धिजीवी, मौकामा मस्ती गर्नुपर्छ भन्ने नातेदार खाले साले भैमाले अरौटे भरौटे पनि तिनै लुटाहा भ्रष्ट पातकीसँग नर्क कुण्डमा डुबाउने सजाय त कतै दुनियामा छैन कि ? अब अरू त सर्टिफिकेटको खोल ओढी स्वयम् घोषित झालेमाले र बेताले भइहाले बाँकी कहिलेकहीँ अन्यायमा बोल्ने स्यालको सिङ खाले विद्वान् । 

आफूलाई जसरी भए नि वैतरणी तर्नु थियो । उपाय त गर्नैपर्छ । यहाँ आउँदा सजधज साथ आए पनि आखिर नाङ्गेझार पार्दा रैछन् । आफू त ल्याउने कुरो केही थिएन । नाङ्गै आई नाङ्गै जाने ! भन्दै उत्तानो टाङ्ग लाएर बसे । धमाधम नेताहरू आए । उनीहरूलाई बिदा गर्नेको जमात देखे । 

उनीहरू हाँसेर गफ गर्दै थिए । कुन ठाउँमा हाँस्ने कुन ठाउँमा रुने भन्ने नै बिर्सिसकेका ती मान्छेले मालाको खात लगाए । त्यो माला मात्र जम्मा गरेको भए वैतरणीमा पुल बन्नेथियो भन्ने लाग्यो । 

क्या गज्जब पुलको कुरो सोच्दासोच्दै म त त्यहाँ बनेको हावा पुलबाट यमलोक पुगिसकेछु । 

हे भगवान् ! 

त्यहाँ चित्रगुप्तको भवनबाहिर पहरा दिएको पालेले भन्यो, तिमी धर्मनिरपक्ष देशबाट आएको हुँदा तिमीलाई भगवान्को दर्शन पाउँदैनौ । 

हैन मैले भैँसी पूजा गरेको छु ।

यहाँ त नयाँ नर्कबासीको हुल छ । अरूलाई शैतान भन्दै लाटागाँडालाई टुप्पी समाएर पानीमा चोपलेबापत चोपल्ने र चोपलिने दुवैलाई नर्क बास ! 

परेन फसाद ! अनि मैले भने, मेरो धेरै जीवन धर्ममै बित्यो । 

उसो भए चित्रगुप्त कहाँ जाऊ, त्यहाँ खातापाता हेरेर कहाँ पठाउने त्यही ठेगाना लाग्नेछ । 

मैले सम्झेँ, त्यहाँ कस्तोलाई कस्तो सजाय दिने हो, एउटा चार्ट टाँसिएको थियो । सायद यही गुप्त सजायको चित्र टाँगिएर छिनोफानो गर्ने भएकैले चित्रगुप्त भनेको हुन्छ खातावाललाई । 

सजायको रूप हेर्दै थिएँ, अचम्म लाग्यो– 

सजाय नम्बर एक– त्यहाँ एउटा कवि हुँ भन्ने विचरो उभिएको रहेछ । 

चित्रगुप्तले भने– कविताको रूप बिगारने तैँ हैनस् ? 

हैन प्रभु ! मैले त नयाँ कविता सिर्जना गरेको हुँ । विभिन्न बान्कीका कविता । छिटा, दर्कन, मुसलधार, गड्याङगुडुङ र चट्याङ पाँच प्रकारको परिकार पस्केको छु, बलेँसी काव्यको नाममा । 

यमराज महाराजलाई कविता विभिन्न समयमा फेरिएको रूप मन पर्छ, ल एउटा एउटा रिहरसलमा सुन्नुप‍¥यो । 

चित्रगुप्तको आग्रहलाई उसले यो ठिटाको छिटा भन्दै कविताको बिटाबाट भन्दै शब्द पड्काउन लाग्यो– 

फुत्त

टप्प 

हुत्त ।

के भनेको थियो– यो कस्तो कविता ? चित्रगुप्तले हकारे । कविले भने– पहिला जन्मन्छ । अनि तप्प तप्प झर्छ गतिवान् भएर र अन्त्यमा भुइँमा ठोक्किएर हुत्त उछिटिन्छ । अब यस्तै अर्काे 

सी सी 

ल्याता प्यात्त

फ्यात्त । 

अर्थात् जन्म, विकास र विसर्जन नै यो छिटा कविताको सूत्र हो । यो एकदेखि दुई अक्षर र एकदेखि दुई शब्दमा बन्छ । 

चित्रगुप्तले ताली पिटे । 

अनि ‘दर्कन’ नि ? 

कविले भन्यो 

झर झर 

सर सर 

भर भर । 

यो त सजिलै बुझिन्छ । पानी दर्कंदा झर झर अर्थात् झरिमा झरर झर्छ । सरसर सर्छ र बलेँसीबाट कुलो, खोलो भर्छ । यो पनि जन्म, विकास र मृत्‍यु प्रकृतिको रूपसँग मेल खान्छ । झर्नु, सर्नु र भरिएर मर्नु । 

मुसलधार बुझ्न कठिन छ । 

सररर

झररर 

भरररर 

चार चार र अनि पाँच अक्षरका संरचना । चलायमान गति, रूप र भरभराउँदो अवस्था अर्थात् भरिने अवस्था । 

गड्याङ्गुडुङ चाहिँ 

डङ्ग डङ्ग

गड्याङ्ग 

ढ्याङ्ग 

प्रखर प्रारम्भ, प्रतिक्रिया र प्रक्रिया । ठूलो हुँदै विलयन । अन्तिम सिर्जना चट्याङ अर्थात् 

मिलिक मिलिक 

झिलिक मिलिक 

पिलिक पिलिक 

मचिनु, सचिनु र थचिनुको रूप । यो क्रान्तिको कमाल ।

यो सबै पाँच किसिमको काव्य नै बलेसी काव्य । 

कविता के हो ? छेउ न टुप्पोको बलेसी बर्खाको च्याउ ! यस्ता झ्याउ लाग्ने स्रस्टालाई के सजाय दिने ? यस्तालाई सजाय यही कविता सुनाएको सुनायै गर्ने । 

सजाय नम्बर दुई : चित्रगुप्तले खाता हेर्दै भने– सांसदलाई धेरै किसिमको आरोप दर्ता भएको छ । सांसद भन्नाले यहाँ मन्त्रीलाई पनि एकै नियम लाग्छ । सदनमा निदाएर घुरेको, चिच्याएर बोलेको, अर्कालाई आक्षेप लगाएको, हाजिर गरेर भत्ता पचाएको, सवारी साधनको दुरुपयोग गरेको, आफ्ना नातेदारलाई घुस ख्वाएको र चाहिने नचाहिने ठाउँमा घुसाएको, घुस दिनेसँग  खुसाएको र नदिनेसँग रिसाएको । 

यस्ता नानाभाँतीको पाप कर्म गरेकाले तिनलाई तल आगो बाली माथि खुट्टामा बाँधी तल लट्काउँदा सजाय नपुग्ने भएकाले र यिनले रुपियाँ मन पराएर पानी ट्याङ्कीमा समेत ढुकुटी बनाएर राष्ट्रको अर्थ सुकुटी पारेको हुनाले उपियाँ खानेलाई उपियाँले खाओस् भनी हजारौँ उपियाँ उफ्रने कोठरीमा कोचिने छ । ताकि एकछिन सुख चयनले शानसँग बस्न नपाऊन् । 

यो सुनी नर्कबासीले ताली बजाए । स्यावास यमराज । यमराज कि जय ! सजाय यस्तै हुनुपर्छ । 

अब पालो आयो मन्त्रिमण्डलको, जो अगुवा उही के जाती भनेझैँ कार्य नगरने कार्यकारिणी नामक मन्त्रीलाई तातो तेल उमालेको कराईमा हाल्ने गर्दा छिट्टै मुक्ति पाउने हुँदा अब उप्रान्त यी रक्सी बढी तन्काउने भएकाले तिनलाई सफा नगरिएको सार्वजनिक ट्वाइलेटमा लेट नगरी थुन्ने । 

अदालतीको कुलतीवालालाई के सजाय दिने यमा नीतिअनुसार शूलीमा चढाउनुपर्ने भए पनि अब उप्रान्त तिनको आँखा छोपी यो कुनै आम्दानीको कर बुझाउन नपर्ने गरी एक घण्टा भ्रष्टलाई नष्ट लेखिएको केक काटेर लिँड र लिँडो मिसाएर पिण्डो खान दिने । 

आन्तिममा चौथो स्टेट भनाउदा सबभन्दा बलवान् छन । तिनको चङ्गुल पर्दा आँखामा पटार बाँधी खान्कीको बाँन्की देखाएर गाईजात्राका दिन नर्कटको कल्की पगरी टाँसिदिने । 

तिनलाई कलमको दोष लागेको छ । कलममा इन्जेक्सनको सुई हाली कलम देखाउँदै गन्दा चन्दाको फन्दा हुँदा पछि पानी ख्वाउँदै छेरपटी नन् स्टप झाडापखाला नलागेसम्म कलेरा पानी दिने । 

यमराजले पनि आफ्नो सजायको दफा दफा फेरि सकेछन् । यसो सजायको सूची हेर्छु त लामै फेहरिस्त रहेछ मन्त्रीको घुसको लिस्टजस्तै लुट्नेलाई कुट्नेदेखि चुट्नेलाई भुट्नेसम्म लिस्टमा लामै सजाय तोकिएको रै’छ । अहो ! वैतरणीको किनारमा कीरा परेसरी पापिस्टको ओइरो देखियो । त्यहाँ छानबिन गर्न दूतहरू खटाइएका थिए । 

कुखुरा चोरदेखि सुन चोर, पकेटमारादेखि ज्यानमारा, लाहुरेको स्वास्नी कुदाउने जारदेखि हजार डन र डाँकाको बजार हेरी नसक्नु ! अचम्म त के थियो भने सुरक्षामा खटिएका प्रहरी अनौपचारिक सिभिल ड्रेसमा एक जनाको मोटर साइकलमा हेरोइन हालेर पछि त्यो मोटरसाइकलवालालाई पक्रिएको केस सुनाउँदै नक्कली कागज बनाएर ल्याएको र आफ्नै नातेदारसँग विवाहविना ब्याएको के हो, केके बहुरङ्गी बथान ! द्वन्द्वको सबै मुद्दा मुलतवी परेछ । ऐनअनुसार गर्ने हो भने कोही पनि चैनले बस्न नपाउने देखेपछि वैतरणीको बाटो नै जाम । हे राम ! 

यिनलाई के सजाय हुने होला भनी यमराजले दिने सजायको चित्र हेर्दै थिए विचित्र भो ! त्यहाँ फल प्राप्ति विभाग रहेछ । राम्रो गर्नेलाई पुरस्कार ! 

मलाई त वैतरणीको नायक लायक भनी आफ्नै चेक प्वाइन्टमा हेर्ने गरी नियुक्ति आइसकेछ । धन्न वैतरणीमा पस्न, खस्न र बस्न परेन ! अनि मेरो पालो लौ त भनी सूचना जारी गरे– जो जो वैतरणीको सर्टिफिकेट पास पोर्ट नागरिकता लिन चाहनुहुन्छ सोर्स फोर्सको कोर्सबिना पाल्नु होला । नक्कली नागरिक आएमा वा ल्याएमा प्रमाणपत्र पाइसके पनि खोसेर कुम्भी पाकमा डुबाइनेछ । न संशय !