• ११ असार २०८१, मङ्गलबार

दशैंको मुखमा खसीबजार नहटाउन माग

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ७ गते । काठमाडौं १४ कलंकीमा रहेको खसीबजार हटाउन महानगरले जारी गरेको सूचनाको व्यवसायीले बिरोध गरेका छन् । महानगरले बिना कुनै जानकारी अचानक खसीबजार हटाउन जारी गरेको सूचना पूर्वाग्रही भएको काठमाडौं चौपाया खरिद बिक्री प्रालि.का अध्यक्ष जनककुमार खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘महानगरले बिना कुनै जानकारी खसीबजार सार्न सूचना निकालेको रहेछ । फोहोरमैलाको कारण देखाई बजार सार्न लगाए पनि हामीले त्यस्तो फोहोर गरेका छैनौँ ।’

महानगर आई अनुगमन गर्दा सुधार गर्नै नसकिने गल्ती, कमजोरी भेटिएमा बजार सार्न तयार रहेको उहाँको भनाइ छ । यो कुनै एउटा व्यक्तिले सञ्चालन गरेको नभई यसमा धेरै व्यक्तिहरु जोडिएकाले महानगरले हटाउन आग्रह गर्दैमा नहटाइने खड्काले बताउनुभयो ।

महानगरले बिना कुनै जानकारी खसीबजार सार्न सूचना निकालेको रहेछ । फोहोरमैलाको कारण देखाई बजार सार्न लगाए पनि हामीले त्यस्तो फोहोर गरेका छैनौँ ।

यस खसीबजारमा १९ वटा स्टल दर्ता भएर सञ्चालनमा रहेका छन् । काठमाडौं खरिदबिक्री चौपाया प्रालि.का अध्यक्ष खड्काका अनुसार फोहोरमैलाको कारण देखाई यो बजार सार्न सूचना निकालिए पनि वास्तविक कारण अर्कै रहेको छ । 

उहाँले भन्नुभयो, ‘चन्द्रगिरि नगरपालिकामा नयाँ खसीबजार खुलेको र उक्त खसीबजारबाट खसीहरु बिक्री नभएकाले यसलाई हटाउन पाए उक्त बजार चल्छ भनेर केही व्यक्तिहरु लागिपरेका छन् । महानगरले यस क्षेत्रको अनुगमन नै नगरी यसरी सूचना निकाल्नु सही छैन ।’ 

यस क्षेत्र वरिपरिका नागरिकले खसीबजारका कारण समस्या भयो भनेर अहिलेसम्म कुनै गुनासो नगरेको उहाँले बताउनुभयो । डेढ किलोमिटर परको नागरिकले हामीलाई असर ग¥यो भन्नु अचम्मको कुरा भएको खड्काले बताउनुभयो ।  

‘महानगरले आएर अनुगमन गर्दा केही कमजोरी गरेका रहेछौँ भने सुधार्छौ ।  १५ दिनभित्र यो खसीबजार अन्यत्र सार्न सक्दैनौँ’ उहाँले भन्नुभयो । वडा कार्यालयमा पनि पटक पटक छलफल गर्दा सार्नुपर्ने कु्नै कारण नदेखिएको र निवेदन दिने पक्ष अनेक बहाना बनाएर बैठक छाडेर हिँडेकाले यो बजार हटाउ भन्नु चलखेल मात्र रहेको खड्काको दावी छ । 

आठ रोपनी जग्गामा फैलिएको यस खसीबजारमा मृत खसी बोकाहरु ‘क्लीन नेपाल’ नामक संस्थाले मासिक १५ हजारमा व्यवस्थापन गर्दैआएको छ । दशैंको मुखमा महानगरले बजार सार्न लगाउँदा विभिन्न शंका उत्पन्न भएका छन् । 

छलफलमा देखिएन चासो 

काठमाडौं महानगरले खसीबजार हटाउन भन्दै सूचना जारी गर्नुअघि काठमाडौं चौपाया खरिद बिक्री प्रालि.ले महानगरलाई “भेटघाटका लागि समय उपलब्ध गराइपाउँ” भन्दै पत्र काटेको थियो । गत साउन ९ गते काटेको पत्रमा महानगरले भेटेर छलफल गर्न कुनै चासो देखाएन ।  न अनुगमन नै ग¥यो न केही कुरा सुधार्न निर्देशन नै दियो खड्काले भन्नुभयो । 

यहाँ बस्न थालेको चार वर्ष भयो तर अहिलेसम्म यो खसीबजारका कारण त्यस्तो केही समस्या भएको छैन । खसीहरु बाँधेर राख्नुहुन्छ । फोहोरमैला पनि त्यती छैन ।

उपमेयरको संयोजकत्वमा रहेको न्यायिक समितिले विशेषगरी यस्ता समस्यालाई टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । तर महानगरका उपमेयर सुनिता डंगोलले यसबारे कुनै चासो नदेखाएको प्रालि.को आरोप छ । 

२३ वर्ष अघिदेखि यो खसीबजार सञ्चालनमा आएको हो । यो जग्गा पनि निजी भएको र महानगरले छाडा चौपायाका कारण समस्या उत्पन्न भएको भन्दै १५ दिनमा खसीबजार हटाउन सूचना जारी गरेको छ । खसी, बोका छाडा पशुचौपाया नभएकाले यो सूचना नै गलत रहेको प्रालि.का अधिकारीहरुको भनाइ छ ।

महानगरले सरकारी जग्गामा रहेको टुकुचाको खसीबजारलाई केही नभन्ने तर अहिले अचानक यो खसीबजारलाई विनाकारण हटाउ भन्नुले मिलेमतोको शंका उब्जाएको प्रालि.को गुनासो छ ।

६० प्रतिशत आपूर्ति यहींबाट 

उपत्यकामा खपत हुने खसीबोकामध्ये करिब ६० प्रतिशत आपूर्ति यही खसीबजारबाट हुनेगरेको प्रालि.ले जनाएको छ । महानगरलाई लेखेको पत्रमा महानगरका आमउपभोक्ताको मागको करिब ६० प्रतिशत आपूर्ति यही बजारबाट हुनेगरेको उल्लेख छ । यस बजारमा देशका करिब ३५ जिल्लाबाट खसी, बोका, भेडा, च्यांग्रा ल्याइने गरिएको छ ।   

स्थानीय भन्छन– समस्या छैन 

खसीबजार वरपरका स्थानीयले भने खसीबजारले खासै सास्या नभएको बताएका छन् । खसीबजारबाट निस्केको मलमुत्र तथा घाँसपात व्यवस्थापन गर्न कामदारको व्यवस्था पनि भएकाले त्यति बढी फोहोर नभएको स्थानीयहरु बताउँछन् । 

उपत्यकामा खपत हुने खसीबोकामध्ये करिब ६० प्रतिशत आपूर्ति यही खसीबजारबाट हुनेगरेको प्रालि.ले जनाएको छ । 

पुस्पा पौडेल चार वर्ष भयो खसीबजामा बस्न थालेको । तर उहाँलाई खसीबजारका कारण खासै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ बस्न थालेको चार वर्ष भयो तर अहिलेसम्म यो खसीबजारका कारण त्यस्तो केही समस्या भएको छैन । खसीहरु बाँधेर राख्नुहुन्छ । फोहोरमैला पनि त्यती छैन ।’ 

यस्तै, अर्की सुमना थापालाई पनि यहाँ व्यापार गर्न लागेको तीन वर्ष भयो । उहाँलाई पनि यहाँको बजारले खासै समस्या पारेको छैन । उहाँ भन्नुहुन्छ, ‘छिमेकमा त्यस्तो फोहोर पनि भएको छैन । खसी, बोकाको आवाज त आउँछ । तर ठूलो हल्ला हुन्न ।’

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।