केही समय नेपाल, केही समय बेलायत बस्दै गर्दा रहरले बनेका पी. सिंहका चित्र तारागाउँ म्युजियमको सानो कक्षमा गत हप्ता प्रदर्शित भए– ‘भ्रमण २०२२’ को नामबाट । प्रदर्शनकक्ष सानो छ, यस अर्थले चित्रहरू पनि कमै छन् । सबैजसो चित्रहरू यथार्थपरक हुँदा अलि टाढाबाट हेर्नुपर्ने हुँदैन । अमूर्त चित्रहरू भएको भए ठूलो कोठा अनि अलि टाढाबाट हेर्न मिल्ने ठूलै कक्ष पनि चाहिन्थ्यो । उहाँको चाहिँ यथार्थवादी चित्रगत शैली हुँदा यसलाई ठूला कोठाको पनि जरुरत परेन ।
करिब चौध वर्षअघि बेलायत जानुभएका सिंह नेपालमै हुँदा कला कोर्नु हुन्थ्यो वा हुँदैनथ्यो, यसकोे अभिलेख कहीँ छैन । स्कुलमा हुँदा सम्भवतः कला कोर्नुहुन्थ्यो होला तर देखिने गरी उहाँ कलाकारका रूपमा देखापर्नुभएको थिएन । उहाँ नेपाल आएको एक हप्ता पनि भएको थिएन, तुरन्तै फर्कनै पर्ने हतारो पनि थियो । यो हतारोमा पनि उहाँको सिर्जनशील मन मानेन । क्रियाशील हुन मन लाग्यो । आफ्ना कामहरू नेपालमा पनि देखाउन मन लाग्यो । बेलायतमा त उहाँले आफ्ना यी काम धेरै देखाइसक्नुभयो । प्रशंसा पनि बटुलिसक्नुभयो । बिक्री पनि निकै भए । थोरै समयका लागि आफ्ना काम आफ्नै गाउँघरमा देखाउने रहर पलाउँदा उहाँले हतारहतारमा प्रदर्शन गर्नुभयो । हतारपतारको काम राम्रो हँुदैन भन्ने गरिन्छ तर यो कला प्रदर्शनीचाहिँ यस्तो देखिन्न । कलाका क्याटलगहरू केही बनेका छैनन्, पर्याप्त मात्रामा सूचनाहरू अभिलेखन छैन, भए अझ राम्रो हुन्थ्यो भन्ने एउटा पाटोचाहिँ रह्यो तापनि प्रदर्शनीकै हकमा चाहिँ यसलाई छ्या भन्ने ठाउँ देखिँदैन ।
तीन दिनका लागि मात्र भए पनि उहाँले आफ्नोे एकल कला प्रदर्शनी गर्न भ्याउनुभयो । मूलतः यसलाई एकल कला प्रदर्शनी नभने पनि हुन्छ किनकि दुई–चारवटा चित्रहरू रोसलिन सिंहका पनि छन् । बुवाकै जस्तै उहाँकी १८ वर्षकी छोरी रोसलिनको पनि हात माझिएकै देखिन्छ । स्तरकै हिसाबमा पनि रोसलिनका चित्रलाई तल झार्न मिल्दैन । यसरी भनौँ एउटै लहरमा यी सबै चित्रहरू प्रदर्शित हुँदा सामान्यतया कसैले पनि यी दुवैका चित्रलाई अलग्याएर पढ्न सक्दैनन् । परिपक्व अपरिपक्व आदि भनेर यी दुवैका चित्रलाई अलग्याउन पनि सकिँदैन । त्यसो त उहाँका अन्य चित्रहरू पनि अनेक शैलीमा देखिँदा छोरीकै चित्रहरू पनि उहाँकै हुन् कि भनेर झुक्किन सकिन्छ । बाबुछोरीको संयुक्त कला प्रदर्शनीकै रूपमा यसलाई हेर्नुपर्ने हुन्छ । जहाँसम्म कलाकारको सन्दर्भ छ, यसअघि नेपालमा कलाकारको रूपमा उहाँको नाम खासै सुनिएको छैन तर सोखसँग शिल्प–दक्षता राम्रैसँग जोडिएपछि अहिले उहाँका चित्रहरू गजबले जमेको छ । जन्मजात कलागत–गुण उहाँभित्र पल्लवित भएर आएको यसले प्रमाण दिन्छ ।
रहरले जन्माएको जस्तो कला देखिए पनि उहाँको कलामा परिपक्वता र शिल्पी दक्षता यथेष्ट रूपमा देखिन्छ । रमाइलो प्रसङ्ग के पनि जोडिन गएको छ भने छोरी पनि कलाकार भएर निस्कनुभएको छ । श्रीमती सङ्गीता सिंहचाहिँ साहित्यकार हुनुहुन्छ । घरमै कलासाहित्यको रमाइलो वातावरणले गर्दा सिर्जनामा परिवारका सबै लागेका हुन सक्छन् ।
कलाकार पी. सिंहको कलाको शैलीगत स्वरूप र प्रवृत्तिको अलिकति कुरा गराँै । उहाँका चित्र एकै शैली र प्रवृत्तिका छैनन् । सरसर्ती हेर्दै जाँदा स्वभावतः जोकसैलाई पनि यो एक समूहगत कला प्रदर्शनी जस्तो पनि देखिन सक्छ किनकि नभनीकन वा कलाकारको हस्ताक्षरमा आँखा गाडेर नहेरेसम्म यी सबै चित्रहरू एउटै कलाकारका हुन् र भन्ने लाग्छ । ठम्याउन गाह्रै पर्छ ।
निरन्तर यसैमा मात्र लागेर उहाँले यस विधालाई समातेको देखिँदैन । पेसाले उहाँ सफ्टवेयर इन्जिनियर हुनुहुन्छ । अधिकांश समय त यसैमा दिनुपर्छ । फुर्सदका बेला वा रहर जागेका बेला उहाँ चित्रहरू बनाउनुहुन्छ । कला सिर्जना निरन्तर हुँदैन । यसले अधिकांश चित्रहरू प्रकारप्रकारमा देखिनु स्वाभाविक पनि हो । अर्को एक थोक पनि छ, यी सबैजसो चित्र एक प्रकारले ‘कपी वर्क’ अनि थोरै उहाँकै कल्पनाका उपज हुन् । भावनाले मथिङ्गलमा गुथेका अनेक कल्पनालाई गाँसेर चित्र बनाउँदा पनि घरीघरी अलग–अलग चित्र दृश्यावलोकन हुनु स्वाभाविक पनि हो ।
उहाँले यथेष्ट रूपमा छापाचित्रको सहयोग लिएको देखिन्छ । छापाचित्रको सहयोग लिनु वा कम्प्युटरमा यसैलाई ‘म्यानुपुलेट’ गर्नु आजको दिनमा नौलो ठानिँदैन । यही छापाचित्रलाई पनि कलाकै रूपमा पस्कनु पनि अहिलेको कलाको प्रकृति र विशेषतालाई हेर्दा अस्वाभाविक लाग्दैन । जुनसुकै माध्यम, जेजसो गरेर मिलाउँदा, गाँसेर ‘कोल्याबोरेटिभ वे’मा गर्दा पनि यसभित्र कलाकारको रचना–दक्षता र शिल्प–दक्षताचाहिँ गाँसिएरै आएको हुन्छ । यसर्थ पनि यस्ता चित्र वा मूर्ति वा कामहरूलाई यसरी नै हेर्ने प्रक्रिया बसिसकेको छ । यस्तो बेलामा कलाकारका अवधारणागत सन्दर्भहरू खोतलेर हेर्नुपर्ने हुन्छ । कुन सन्दर्भमा, कुन अवस्था र वातावरणमा कलाको सिर्जना भयो योचाहिँ महत्वको कुरा हो ।
घाँसको भारी बोकेकी एक महिलाको चित्र छ, ‘रियालिस्टिक’ अझ ‘सुपर रियालिस्टिक’ शैली भने पनि भयो यसलाई । चित्रपटको धेरै ‘नेगेटिभ स्पेस’लाई छाडेर संयोजन गरिएको यो चित्रमा बिचरी महिलाको व्यक्तिचित्र दृश्यावलोकन हुन्छ । स्वभावतः यो चित्र कतै हेरेरै बनाएका होलान् तापनि मुखाकृतिको अभिव्यञ्जना, भाव र मनभित्र बोकेका दुःखेसाहरू स्पष्ट देखिन्छ । यति मात्र होइन अति स–साना अवयवहरूलाई बढो जतनका साथ निर्वाह गरेको देखिनु पनि उहाँको थप विशेषता हो । अति मेहनत, संयम र धैर्य आदिले गर्दा पनि उहाँको यो काम गजबकै देखिन्छ । यसै बेला पुनः नितान्त अर्कै शैली र सोचमा निर्माण गरिएको एउटा मात्र गिलासको चित्र छ । यो एउटा पारदर्शी गिलासको हो । अति दुरुस्त देखिने चित्रमा ‘क्रिस्टल’को स्वाभाविक विशेषताका साथ थोरै रक्सी आदिले यथार्थ अवस्थालाई चित्रण गरेको देखिन्छ । स्वभावतः यथार्थ शैलीमा बनेको यो गिलास शिल्प दक्षताले परिपूर्ण भएको देखिन्छ । यस्तै विषय र ‘क्रिस्टल’कै थोरै फरक विषयमा पनि अन्य चित्रहरू बनाउनुभएको छ । यसबाहेक पोजका रूपमा बनाएको अण्डा, छोडाएको सुन्तलाका केस्राकेस्राहरू, आधा काटेको गोलभेँडा आदिका चित्र पनि ‘सुपर रियालिस्टिक’ स्वभावमा दृष्टिगोचर हुन गएको देखिन्छ । यसले गर्दा यी चित्रहरूमा यथेष्ट सौन्दर्य वशीभूत हुनु स्वाभाविक देखिन्छ ।
यस्तै अर्को चित्र छ, चित्रपटभरि पानी आउँदाआउँदै सुकेको वा पानी निमिट्यान्न भएको धाराको टुटीमाथि प्यासी चरा । पानी खान नपाएका चराको अवस्था आदि उहाँले समात्दा यो चित्रको कला संयोजन पनि अलौकिक बन्न गएको छ । विषयवस्तु अनि अवस्था, घटनाको मर्मलाई चोटिलो पाराले समात्ने र यसैलाई केन्द्रबिन्दुमा राखेर कला प्रस्तुत गर्ने उहाँको तौरतरिका गजबले प्रस्फुटन भएको छ । हरेकजसो चित्रमा एउटै मात्र वस्तुलाई केन्द्रमा राखेर यसैको विशेषता र लक्षणलाई केलाई–केलाई उजागर गर्ने एउटा थप विशेषता पनि उहाँमा देखिन्छ । ढुङ्गेधाराको चित्र वा सिङ्गो घरको एउटा पाटो ढोका र झ्याल, अनि ढोकामा एउटा बूढो व्यक्ति कसैलाई पर्खी बसे जस्तो चित्र अझ मार्मिक देखिन्छ । विषयवस्तुका हिसाबले कलाकारको छनोट आफैँ पनि मार्मिक देखिन्छ । यसलाई प्रस्तुत गर्ने तरिका, संयोजन, सङ्गठन आदिले यी चित्र एक तमासको देखिन गएको हो । समग्रमा यस्ता चित्र हेर्दा अनि उहाँका तुलिका र रङ्गहरूको चलखेललाई छाम्दा पनि कहीँ खोट लगाउने ठाउँ देखिँदैन । स–साना रेखाहरू सहजै स्वाभाविक रूपमा कुँदिरहेको हेर्दा एक किसिमको मिठास भावकले महसुस गर्छन् । त्यति नै बेला बोल्ड तुलिकाघातको प्रयोग भएको अर्को दृश्य चित्र हेर्दा पनि त्यत्तिकै रूपमा दर्शक मोहित हुन्छन् ।