• ७ जेठ २०८१, सोमबार

लाखौँ मनकलीको कथा

blog

विमला अधिकारी देवकोटाको मनकली उपन्यासको शीर्षकबाट  प्रभावित भएँ । नेपाली समाजको मीठो र मौलिक नाम । पुस्तक पनि पक्कै सुस्वाद हुनुपर्छ भन्नेमा आशावादी भएँ । उपन्यासभित्र भारती गौतम, कृष्ण धरावासी, हेमनाथ पौडेल, कुसुमाकर न्यौपाने, भरत सापकोटाका शुभकामना मन्तव्य थिए भने प्रकाशकीयका तर्फबाट ज्ञानेन्द्र गदालका पुष्पगुच्छा । स्वयं लेखकले आफू २०६२ सालमा इजरायलमा रोजगारीको सिलसिलामा जाँदा ‘मेरा कुरा’मा उपन्यास कसरी सिर्जना गरेँ भनेर स्पष्टोक्ति दिएकी छन् । उनका अनुसार सुदूर पश्चिमकी सहकर्मी साथी इजरायलमा भेटेको र उनको कथा सुनेपछि उपन्यास लेख्न प्रेरित भएको कुरा व्यक्त गरेकी छन् । 

सरल र सरस भाषाशैलीका कारण पुस्तकको पेज पल्टिएको थाहै हुन छाड्यो । सुदूरपश्चिम डोटीकी मनकलीको जीवनका सङ्घर्षशील जीवनका कथाले कतिबेला आँखा भरिन्थे, कति बेला, मुटुमा गाँठो पथ्र्यो । टेस्ट परीक्षा असफल भई भनेर १४ वर्षकी नाबालक हुँदा उसको बिहे हुन्छ । चिन्नु न जान्नुको, उमेरको धेरै अन्तर भएको केटालाई बिहे गराए मनकलीका बाआमाले । त्यसपछि छोरीले दुःख पाई कि सुख पाई, ऊमाथि कस्ता खालका हिंसा भए भनेर कुनै खोजखबर गरेनन् उसका माइतीले । 

छोरी भनेका अर्काको भित्ता टाल्ने जात हुन्, माइतीमा बस्नुहुँदैन भन्ने सोच भएका अनपढ बाबुआमाका कारण मनकलीले दुःखको पहाडसँग सामना गर्नुप-यो । बिहे गरेकै रात लोग्नेबाट ३ पटक बलात्कृत हुँदाको त्यो पीडाबाट उसको मनोदशा कस्तो रह्यो होला ? बुहारी भनेका काम गर्ने मेसिन् हुन् भन्ने सामाजिक संरचनाका कारणले मनकलीले कति शारीरिक बुहार्तन खप्नुप¥यो ? उमेर नपुगी पेटमा बच्चा आउँदा उसको पटकपटक गर्भ खेर गएको छ । अस्पतालको मुख देख्न पाएकी छैन । योनीबाट रगत बगाई बगाई ऊ काममा जोतिनुपरेको छ । राम्रोसँग खानपिन गर्न नपाएका कारण र आराम नपाउँदा मनकलीले भोगेको पीडाको कुनै हिसाबकिताब छैन ।

खेतीपाती नगरी खान नपुग्ने, श्रीमान् रक्सीको सुरमा झुलिरहने, नन्द र सासूले गरेको असहयोगलाई मनकलीले कसरी झेली ? धेरैपटक गर्भपतनका बीच जन्मेका तीन सन्तानको पनि कसरी ऊ एक्लैले लालनपालन र शिक्षादीक्षा गर्नुप¥यो भन्ने खालका हृदयविदारक घटनाले पाठकको मन चिराचिरा हुन्छ । आँखा रसाइरहन्छन् । यी सारा समस्याहरूबीच सङ्घर्ष गर्दागर्दै ऊ एक दिन केयरगिभरका रूपमा इजरायल जाने मौका पाउँछे । खराब परिवारलाई असल मार्गतर्फ लैजान प्रयत्न गर्ने उसको मिहिनेती स्वभावले गाउँ, समाज प्रभावित हुन्छन्, ऋण हालिदिन्छन् र इजरायल टेक्न पाउँछे । 

चेतनाको कमीका कारण श्रीमतीले दुःख गरेर पठाएको पैसा उसको लोग्नेले हिनामिना गर्छ । मनकलीको श्रम पानीमा मिलाउँछ उसको लोग्ने । विश्वास गरेर आफ्नै साथीभाइलाई दिएको ऋण खाइदिन्छन् र ऊ विवश भएर छोराछोरीको मायाले विदेशमा बस्न नसकेर नेपाल नै फर्केर सङ्घर्ष गरेको घटनालाई उपन्यासले कथानक बनाएको छ । 

मानसिक र शारीरिक रूपबाट परिपक्व नभई बिहे गर्दा मनकलीजस्ता लाखौँ नारी समाजमा कति होलान् ? भन्ने साझा कथा यस उपन्यासमा आएको छ । भाषा निकै मीठो छ । सुरु गरेपछि उपन्यास अन्त्य नभइन्जेल छोड्न मन लाग्दैन । आज पनि अशिक्षाका कारण हाम्रो समाजमा छोरी बुहारीले यस्ता कैयौँ कथाहरू रुँदै रुँदै झेल्नुपरिरहेको छ । ज्यानै गएका डरलाग्दा घटनाहरू पनि उत्तिकै सुनिन्छन् । सुन्दा सामान्य विषय लागे पनि हृदय हल्लाउने यो उपन्यासको लेखनशैलीले पाठकलाई निकै आनन्द दिन्छ । á

कृति : मनकली

विधा : उपन्यास

उपन्यासकार : विमला अधिकारी देवकोटा

प्रकाशक : राइटर्स इन्टरनेसनल, अमेरिका 

प्रकाशन : २०७८

मूल्य : रु. ४४९

पृष्ठ : २५५।–