हाइकुको उद्गम भूमि जापानमा केही वर्ष बस्ने क्रममा मैले पनि हाइकुसँग परिचित हुने मौका पाएँ । म त्यहीँ बसेका बखत सन् २०१८ सेप्टेम्बर २९ र ३० मा अनेसास जापानले टोकियोमा अन्तर्राष्ट्रिय हाइकु महोत्सव गरेको थियो । तत्कालीन अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले मलाई कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका थिए । काठमाडौँ र बेलायतबाट पनि अतिथि आएका थिए । हाइकु क्षेत्रमा जापानका दिग्गज व्यक्तित्व र हङकङबाट समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यही कार्यक्रमबाट मेरो पनि हाइकुमा विशेष रुचि बढ्दै गयो ।
म बसेको मात्सुयामा सहरमा हाइकुका दोस्रो प्रमुख व्यक्तित्व मासाओका सिकी जन्मिएका थिए । उनको नाममा सङ्ग्रहालय पनि बनेको थियो । त्यो भ्रमण गर्ने अवसर पाएपछि म हाइकुका बारेमा अझ बढी चिन्तनशील भएकी थिएँ । मासाओका सिकी जन्मिएका कारण मात्सुयामा सहरलाई ‘सिटी अफ पोयट्री’का नामले पनि चिनिन्थ्यो । सहरका विभिन्न ठाउँमा उहाँका सालिक बनेका थिए । माचुओ बासो (सन् १६४४–१६८२) हाइकु साहित्यका प्रथम आधार स्तम्भ हुन् । उनीपछिका दोस्रो व्यक्तिका रूपमा मासोओका सिकीलाई लिइन्छ ।
५, ७, ५ अक्षरको तीन पङ्क्तिमा आधारित भएर जम्मा सत्र अक्षरमा लेखिने यो विधा निकै सटिक र रोचक पनि लाग्दै गयो । म अध्ययनशील बन्दै गएँ र फुटकर रूपमा पनि लेख्दै आएँ । हाइकुसँगको मेरो नाता यहीँबाट सुरु भयोे । साहित्यका विधा जे लेखे पनि आखिर यही समाजलाई लेख्ने हो, आफूलाई जे लेख्दा आनन्द लाग्छ त्यसमै रमाउन सक्नु नै खुसीको कुरा हो भन्ने मलाई लाग्छ । नेपाल फर्किएपछि नेपाल हाइकु केन्द्रमा जोडिन पुगेँ । संस्थाका अध्यक्ष हुनुहुन्थ्यो– प्रा. रामकुमार पाँडे । पहिलो पटक स्वयम्भूको स्थलगत हाइकु यात्रामा हाइजिनहरूसँग घुमेर धेरै छलफल गरेँ । हरेक लेखनजस्तै हाइकु लेखन पनि सोचेजति सरल किन हुन्थ्यो र ? जति सरल उति जटिल मान्यता नै छ । कार्यक्रमको प्रावधानअन्तर्गत कम्तीमा दसवटा हाइकु सिर्जना गरेँ ।
यसैबीच कोरोना महामारी फैलियो । समाजका हरेक क्षेत्र प्रभावित बने । कोरोनाका कारण लामै समय यो कार्यक्रम पनि स्थगित रह्यो । कोरोना महामारीपछि पहिलोपल्ट फागुन महिनाको वसन्त ऋतुमा आधारित भएर टौदहमा हाइकु लेखन गरियो । निम्तो पाए पनि गुञ्जन नारी साहित्य संस्थाको कार्यक्रममा सहभागी हुन सकिनँ ।
स्रष्टाहरू ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक आदि महìवले भरिएको ठाउँमा जाने त्यहीँ बसेर कम्तीमा दसवटा हाइकु सिर्जना गर्ने र उहीँ वाचन गर्ने अनि उक्त हाइकु नेपाल हाइकु केन्द्रलाई बुझाउने परिपाटी थियो । ती सबै सिर्जनालाई पछि हाइकु सङ्ग्रहका रूपमा प्रकाशन गरिन्थ्यो । ग्रीष्म ऋतुअन्तर्गत जेठ–असार महिनाको हाइकु स्थलगत यात्रा असार ११ गते शनिबार जुरेको थियो । स्थान थियो, ललितपुरको बुङ्मती परिसर ।
म काठमाडौँमा स्थायी रूपले बसोवास गर्न लागेको दुई दशक बितिसकेको छ । नियात्रा लेखनमा रुचि भएका कारण काठमाडाँै नजिकका ठाउँहरू गोदावरी, रानीकोट, फूलचोकी, साँखु हुँदै वज्रयोगिनीदेखि लिएर करिब २५, ३० वटाभन्दा बढी गन्तव्यमा पदयात्रा गइसकेकी छु । यति हुँदाहुँदै पनि ललितपुरको खोकना र बुङ्मतीमा पाइला राख्न पाएकी थिइनँ । प्राचीन नेवारी बस्ती, तोरीको तेल पेल्ने स्थानीय ठाउँ, काठमाडाँै–हेटौँडा फास्टट्र्याक जोड्ने प्रमुख स्थान र यसैका कारण बेलाबेलामा अखबारमा छाउने खबरहरू आदिका कारण खोकना नामसँग बढी परिचित थिएँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन सुनेकी थिएँ । तिनै रातो मच्छिन्द्रनाथलाई दर्शन गर्न म इच्छुक थिएँ ।
२०७२ मा भुइँचालो जाँदा बुङ्मतीमा धेरै घर भत्किई धनजनको व्यापक क्षति भएको कुरा पनि पत्रिकामा पढेकी थिएँ । यी दुवै ठाउँमा हाइकु लेखनका लागि जाने कुरा सुन्दा म बडो उत्साही भएँ । यहीअनुरूप शनिबारका दिन हामी नख्खु दोबाटोमा बिहानको ८ बजे भेला हुने कुरा थियो । रातभर पानी परेको थियो । बिहानीपख पनि आकाश सफा थिएन । बादलका काला झुण्डहरू आकाशमा मडारिरहेका थिए । वर्षा हुने सम्भावना प्रबल थियो । पानी पर्छ भनेर काम थाती राख्ने कुरा पनि भएन । म निर्धारित समयमै नख्खु पुगेँ । शान्ति सापकोटा र म प्रा. रामकुमार पाँडेको निजी गाडीमा अगाडि बढ्यौँ । यसअघि भैँसेपाटीसम्म आइसकेकी थिएँ । त्यहाँभन्दा अगाडि जाने मौका मिलेको थिएन ।
नख्खुको पुल कटेपछिको बाटो राति परेको पानीले हिलाम्मे थियो । बिहानको साढे आठ बजेकोले स्कुल बस र अफिस जानेहरूको चहलपहल बढ्दै गइरहेको थियो । पानी पर्न आकाश धुम्मिएकै थियो ।
“लौ न मैले त छाता बोकिनँ, हिँड्दा पानी परे के गर्ने ?” शान्तिले भनिन् ।
“मैले पनि छाता त बोक्नै बिर्सेछु,” रामकुमार सरले पनि खिस्स हाँस्दै भन्नुभयो ।
“आशा गरौँ हामी घुमिसकेपछि पानी परोस् ।” मैले यसो भन्नुको कुनै तुक थिएन । यस्तै यस्तै गफ गर्दै हामी भैँसेपाटीबाट बुङ्मतीतिर लाग्यौँ । बाटो साँघुरो थियो तर यसमा पनि यति धेरै सवारीसाधन गुडेका थिए कि अचम्मै लाग्यो । यो बाटो स्तरन्नोति गर्न लागेको कुरा पढ्दै आइरहे पनि काम धेरै नै बाँकी रहेछ ।
काठमाडौँको व्यस्त ठाउँभन्दा पटक्कै कम्ती थिएन यहाँ । हुन त ठूला ठूला नेता र मन्त्रीको आवासस्थल यतै छ भन्ने सुनेकी थिएँ । बढ्दो सहरीकरणको चपेटामा यो चेपिएको कुरा अनुमान गर्न कुनै गाह्रो थिएन । आँखाले भ्याएसम्म यस वरिपरिको तस्बिर आँखाकै क्यामेराले खिचिकखिचिक पार्दै गएँ । शान्तिजीको अनुहार त्यति हँसिलो थिएन । “हैन किन आकाशजस्तै धुम्म फुल्नुभएको तपाईं ? अरू बेला गुराँस फुल्ने अनुहार आज किन यति मलिन ?” मैले ठट्टाको स्वरमा जिस्काएँ ।
“घरभरि पाहुना आका छन्, म यता हिँडेँ त्यतै गयो नि ध्यान ।” उनले गाँठी कुरा खोलिन्,
“ए हो र,” मैले भनेँ । “हुन त तीन दिन भयो आउनुभको, अझै बस्नुहुन्छ दुई–तीन दिन । समुद्रपारिका पाहुना उठ्ने, खानेको परिपाठ मिलाउनुपर्ने । बिहानको खाजा दिएँ, छोरीलाई भान्छाको सर्जाम ठीक पार्दै गर, दिउँसो खाना खुवाउन म आइपुग्छु भनेर निस्केकी नि... ।” जिम्मेवारीका रेखाहरू अनुहारभरि छड्काउँदै उनी बोलिन् ।
घरबाहिर निस्कन हामी महिलालाई कति गाह्रो छ नि अनेक काम हुन्छन् । यता ग¥यो उता छुट्छ, उता ग¥यो यता छुट्छ । मै पनि त हिजो नियात्रा समाज नेपालको कार्यसमितिको बैठक र पवन आलोककृत नियात्रा कृति ‘पहाड र लमतन्न समुद्र’को अन्तर विमर्श कार्यक्रममा दिनभर व्यस्त थिएँ । घर आउँदा साँझको ७ बजेको थियो । अहिले बिहान ७ बजे निस्केर फेरि यतातिर । घरका मान्छेको गुनासो कम्ती सुन्नु पर्दैन फेरि । कहिलेकाहीँ छोड्नै नमिल्ने पर्छन् कार्यक्रम । यी पनि साहित्य साधनाकै रूप हुन् लेख्नलाई, नघुमी के थाहा हुन्छ र भनेर बाहिर निस्कन्छु । म पनि स्वर भारी पार्दै पीडा बिसाउँछु ।
गुड्दागुड्दैको हाम्रो गाडी ओरालो बाटोमा टक्क रोकिन्छ । रेस्टुराँभित्र हामी पस्छौँ । स्थलगत भ्रमणपछि हाइकु वाचन गरेर कार्यक्रम गर्ने र खाना खाने हाम्रो ठाउँ रहेछ यो । साथीहरू जुटेपछि हामी बल्ल जाने रहेछौँ । किशोर बज्र वज्राचार्य र ज्ञानेश्वर अमात्य आइसक्नुभएको रहेछ । हाल जापानमा रहेका अनेसासका अध्यक्ष प्रकाश पौडेल
‘माइला’ आजको कार्यक्रममा सहभागी हुने कुरा थियो । मित्रबन्धु पौडेल, शिरोमणि दवाडीलगायत अन्य साथीहरू आउनुभएकै रहेनछ । धन्न धेरै बेर उहाँहरूलाई कुर्नु परेन । जुट्यौँ एकछिनमै सबै । पानी परिसकेको थिएन । हामी सबैले आफ्ना सवारीहरू होटलअघि पार्किङ गरेर पैदल हिँड्दै मच्छिन्द्रनाथको मन्दिरको दर्शन गर्ने र स्थानीय मठमन्दिरको दर्शन गर्न भनेर हिँड्यौँ । यहाँनेर सवारीसाधनको बाक्लो पार्किङ र ट्राफिक प्रहरी पनि बाक्लै देखेँ । कुरा बुझ्दा थाहा भयो । यो हेटौँडा जाने गाडीहरूको चेकजाँच प्वाइन्ट रहेछ पो भीड भएको । हामी होसियारीपूर्वक छेउ छेउ लाग्दै बुङ्मतीका स्थानीय ठाउँहरूतिर लाग्यौँ ।
पहिलो पटक म यो क्षेत्रतिर आउँदै थिएँ । सबै कुरा नौलो लाग्दै थियो । हामी मच्छिन्द्रनाथको मन्दिर दर्शन गर्न त्यतातिर लाग्यौँ । यसअघि तस्बिरमा मात्रै देखेकी रातो मच्छिन्द्रनाथ मन्दिरमा थपक्क बसेका थिए । पत्रिकाका पानामा देखेको तस्बिर आँखैले देख्न पाउँदा असाध्यै खुसी लाग्यो । स्थानीय पुरोहित पनि मन्दिरमै रहेछन् । हाम्रा जिज्ञासाको शमन गरे । भूकम्पले भत्काएको अर्को मन्दिरको निर्माणकार्य भइरहेको रहेछ ।
वरिपरि पुरानो काष्ठकलाले सजिएका मठमन्दिर प्रशस्त थिए । परिसर वरिपरि आफ्ना आफ्ना कोठामा कालिगडहरू काठमा अनेक मूर्ति र बुट्टा खोप्न तल्लीन थिए । नेवारी समुदायको आवासीय क्षेत्र भन्ने मौलिक झलकहरू प्रशस्तै देखिन्थे । स्थानीय मानिसहरू नेवारी भाषामा संवाद गर्र्दै थिए । मन्दिरको पछाडि हजारौँ वर्ष पुरानो कमलको ठूलो रुख थियो । सेतो फूल झपक्कै फुलेको देखिन्थ्यो । वास्ना पनि मगमग आइरहेको थियो । स्थानीयवासी जुजुमान महर्जनले यो राणाकालीन रुख भएको र यो पूmलको वास्ना परपर फैलने गरेको बताए । यस्तो रुख मैले पहिलो पटक देखेकी थिएँ । अनौठो मानेर हेरिरहेँ ।
पुरानो तर कलात्मक घरबाहिर पिँढीमा चाउरीले मुजैमुजा परेकी एउटी आमाले हामीलाई अपलक हेरिरहेकी थिइन् । म उनको नजिकै गएँ । नमस्कार गरेँ । “तपाईंको गाउँ घुम्न आएका हामी,” उनी फेरि मुसुक्क हाँसिन् ।
“कति वर्ष हुनुभयो ?”
बल्ल बल्ल भनिन्, “८५ वर्ष,” नेवारी भाषा मात्रै आउने रहेछ । नेपाली बडो मुस्किलले बोल्ने देखेपछि धेरै कुरा गर्न सकिनँ । एउटा तस्बिर अँगालो हालेर खिचेपछि म उनीसँग छुट्टिएँ ।
बुङ्मती मच्छिन्द्रबहालको उत्तरी ढोकाबाट बाहिर झर्नेबित्तिकै एउटा पाषाणको सिंह गाडिएको अवस्थामा देखेँ । अलि माथिपट्टि खाइलाग्दा दुईवटा सिंहद्वार रक्षार्थ बसेका थिए । यो बाटो बनाउने क्रममा ठाडो सिंहको मूर्तिलाई गाड्नु पो परेछ कि भनेजस्तो लाग्यो । बडो अनौठो लाग्यो यो दृश्य । कसलाई सोधूँ कसलाई सोधूँ भयो । बाटो हिँडेका स्थानीयलाई जिज्ञासा राखेँ । नेवारी मिसाउँदै केही कुरा भन्नुभयो तर मैले पूरै बुझ्न सकिनँ । हामीसँगै जानुभएका किशोरवज्र वज्राचार्यलाई नेवारीमा सुनेर नेपालीमा सुनाउन अनुरोध गरेँ ।
पहिला बुङ्मतीमा तीनवटा सिंह थिए रे । दुईवटा सिंहले मच्छिन्द्रबहालको संरक्षण गर्दथे । एउटा सिंह भने वरिपरि घुमेर मान्छेको घरआँगन चहार्दै दिनचर्या बिताउने गर्दथ्यो । त्यो सिंहसँग तन्त्र शक्ति थियो र अरूलाई रोगव्याधि लगाउन सक्दथ्यो । एकपल्ट बुङ्मतीमा पेट दुख्ने महामारी फैलियो । वैद्यले पनि किन रोग लागेको हो पत्ता लगाउन सकेनन् । मान्छेहरू बुङ्मतीकै एक तान्त्रिककहाँ गए र तान्त्रिकले आफ्नो विद्याको बलबाट त्यसरी रोग लाग्नु पछाडि त्यो सिंहको दोष रहेको पत्ता लगाए । सिंह यताउता चहार्दै जाँदा मानिसले फोहोर पानी बग्ने प्वाल (धुम्प्वाचा) सफा नगरेका कारण जताततै फोहोर बढेको देखेको र रोगव्याधि फैलाइदिएको कुरा गरे । त्यसपछि मानिसले घरआँगन, धुम्प्वाचा सफा राख्न थाले र त्यो सिंह फेरि रिसाउने हो कि भनेर सबै मिलेर सिंहलाई समातेर यताउति चहार्न नमिल्ने गरी जमिनमुनि गाडिदिए । त्यसपछि पेट दुख्ने महामारी रोग निको भयो । बुङ्मतीमा अहिले पनि कसैलाई पेट दुखेको छ भने पहिला त्यो गाडिएको सिंहतिर गएर खाना राख्न (बउ तवनेगु) जाने चलन रहेछ भने रोग सार्ने सिंह भनेर यससँग सतर्क रहेर बस्ने गर्छन् । गाडिएको सिंहबारेको यो रोचक किंवदन्ती सुनेर म छक्क परेँ । सिंहको प्रतिमालाई मुसारिरहेँ र एउटा तस्बिर साक्षीस्वरूप खिचिदिन शान्तिजीलाई आग्रह गरेँ ।
बिहानदेखि कालो र नीलो भएको आकाश अब भने बर्सन लाग्यो । सबैसँग छाता थिएन । यिनै सिंहद्वारमा रक्षक बनेको भवनमा काठको फल्चा रहेछ । बस्यौँ र झरी हेर्दै हाइकु चिन्तन गर्न लाग्यौँ ।
दर्किंदो पानी
असारको महिना
प्रकृति धर्म
काष्ठकलाले
पक्कै बलेको छ
बुङमती क्षेत्र
मैलेजस्तै अरू साथीले पनि यसरी नै लेखिरहनुभएको थियो । एकछिनपछि पानी पर्न रोकियो अनि हामी पुनः यहाँको सांस्कृतिक स्थल घुम्न लाग्यौँ । अलि पर रहेछ खोकनाबस्ती । आज त्यहाँ जान भ्याइएलाजस्तो लागेन । लेखेका हाइकु वाचन गर्ने कार्यक्रम बाँकी नै छ । मौसम पनि त्यति सफा छैन आज । फेरि अर्को दिन खोकना मात्रै जाने र त्यहाँको प्रकृतिसँग रमाउने वाचा गरेर यहीँबाट त्यता हात हल्लायौँ । आजको सिङ्गो दिन हामीले मच्छिन्द्रनाथको भूमि बुङ्मतीमै बिताउने भयौँ । हाम्रो यो निर्णय देखेर मच्छिन्द्रनाथ देवता पनि मुसुक्क हाँसेझैँ लाग्यो ।