• ८ जेठ २०८१, मङ्गलबार

आगामी निर्वाचनमा गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

blog

कार्यक्रममा उपस्तिथत नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत ।

काठमाडौं, साउन १९ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा हालको गठबन्धन कायमै रहने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित डा. ढाकाराम सापकोटाद्वारा लिखित नेकपा (एमाले) र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । निर्वाचनको विषयमा शुक्रबार बिहान सत्ता गठबन्धनको बैठक बस्ने पनि उहाँको भनाइ छ । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘गठबन्धन कायम रहन्छ । गठबन्धन मिलेर चुनावमा जानेछ, भोलिको बैठकमा यी विषयमा छलफल हुन्छ । तर, गठबन्धनमा अर्को मोर्चा चाहिँ बन्छ ।”

उहाँले एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा गोलबद्ध हुने बताउनुभएको हो । नेपाली कांग्रेसलाई पनि आफै सर्वेसर्वा हो भन्ने लाग्न सक्ने भएकोले चुनावी मोर्चा बनाउनु आवश्यक रहेको भन्नुभयो । 

चुनावमा वाम गठबन्धनको सन्दर्भमा एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने दलसँग गठबन्धन गरेर अर्थ नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘‘विचार, धारणा र मन मिल्नेसँग चुनावी नयाँ अभियान सुरु हुन्छ’’, उहाँले थप्नुभयो, “पार्टीको केन्द्रीय परिषद्को बैठकमा गठबन्धनबारे चर्चा भएको छ । हात्ती आयो, हात्ती आयो फुस्सा भयो भने के गर्ने ? त्यतिकै रोएर बस्ने । तसर्थ, शक्ति तयार गरेर अघि बढ्नुपर्छ ।”

उहाँले डोटी जिल्लामा समाजवादीप्रति उत्साह भएको भन्नुहुँदै अप्ठ्यारालाई पन्छाएर हिम्मतका साथ अघि बढ्न पार्टी पंक्तिमा आह्वान गर्नुभयो । 

पुस्तकबारे उल्लेख गर्नुहुँदै उहाँले विगतमा संसद विघटन र त्यसपछि भएका राजनीतिक घटनाक्रमको स्मरण गराउनुभयो । हण्डर, ठक्कर खाएपछि बुद्धि खुल्छ भने गल्ती स्वीकार गरेर नयाँ अध्याय सुरु गर्न सकिने भनाइ पनि उहाँले राख्नुभएको छ।