काठमाडौं, साउन १७ गते । आज थारु समुदायले ‘गुरही’ पर्व मनाएका छन । साउन महिनाको पञ्चमीमा पर्ने भएकाले यसलाई नागपञ्चमी पनि भनिन्छ ।
वर्षा सकेपछिको थारु समुदायमा मनाउने चाडमध्येको पहिलो चाड भएकाले गुरहीलाई रोगव्याधी भगाउने चाडको रुपमा पनि लिइन्छ । गुरहीलाई थारु समुदायले धूमधामका साथ मनाउने गरेका छन् ।
देशभर थारु समुदायले मनाउने गुरही मंगलबार काठमाडौंमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, ‘नाग बाबा’ लाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहेको गुरही (गुर्या) कार्यक्रमका संयोजक शिव चौधरीले बताउनुभयो ।
उहाँका अनुसार ‘नागबाबा’ लाई घरको ढोकामा टाँसेर पूजा गर्नुले दुःख, कष्ट र रोगव्याधीलाई नाग बाबाले घरमा प्रवेश हुनबाट रोक्नु भन्ने हो । संयोजक चौधरीले भन्नुभयो, “किसानका लागि सबैभन्दा गाह्रो काम खेतीपातीको काम हो । यो सकाएर सबै जना घरमा फुर्सदिलो भएको बेला आउने यो पहिलो पर्व हो । सबै परिवार सँगै भएर पर्व मनाउन पाउनु आफैँमा दुःख कम हुनु हो । सुख–दुःख साटासाट हुन्छ भने एकता नै शक्ति हो भन्ने सन्देश गुरहीले दिन्छ ।”
थारु समुदायमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर चिन्ने गर्छ । थारु समाजमा ‘गुरही’ या नेपालीमा ‘गाइने किरा’को पूजा हुन्छ । थारु समाजमा पनि ठाउँ अनुसार ‘गुरही’ पर्व फरक–फरक तरिकाले मनाइन्छ ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, ‘नाग बाबा’ लाई पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहेको छ ।
गुरही मनाउनुको कारण
साँझको समयमा घाम दुब्ने बेला गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को आगुवाइमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ–नयाँ कपडा लगाएर थालमा भुजा, कोहरी कपडाको रंगीविरंगी ‘गुरही’ लिएर गाउँको चौराहामा जाने र सबैजना जम्मा भएपछि गुरही असराएर ठटाउने काम हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बालबच्चा सबै जना भेला भएका हुन्छन् ।
गाउँका मुखिया ‘बड्घर’ एकै साँसमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पारेर त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाहरु त्यसलाई आफूसँग ल्याएको रंगीचंगी कोर्राले ठटाउँदै ‘देउ घुघरी, लेउ घुघरी’ भन्दै गीत गाउँछन् । यसरी गुरही ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र भूत, प्रेतको दुःखबाट छुटकारा पाइन्छ भन्ने जन विश्वास छ ।
केटाकेटीको पुत्ला
केटाकेटी आकारको लुगाको पुत्ला बनाएर ‘चौपट्टी’ अर्थात् चौराहामा लगेर ठटाउने गरिन्छ । समाजभित्र तिरस्कृत रहेको बोक्सी, भर्र–गुरुवालाई समाजबाटै बहिष्कृत गरेको यसले संकेत गर्ने भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले बताउनुभयो ।
उहाँका अनुसार, थारु समाजभित्र रहेको यो एक अन्धविश्वास पनि हो । “आधुनिक समयमा बोक्सी, भर्र–गुरुवा हुनेमा मलाई विश्वास लाग्दैन” गुरही ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदीबहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रुपमा बाँड्ने चलन छ । चना, मकै, केराउ, मटरलगायत परिकारका भुजा प्रसादका रूपमा बाँड्ने प्रचलन छ ।
ठटाएको भुजा र कपडाको टुक्रा संकलन गरेर घरमा लाने गरिन्छ । ठटाएका ती कपडाको टुक्रा घरको ढोकामा बाँध्दा, भुजालाई घरको छानामा छर्कने र डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास रहेको संयोजक शिव चौधरीले बताउनुभयो ।
उहाँका अनुसार, गुरहीलाई ठटाइसकेपछि नदीनाला कुलोमा अन्त्येष्टि गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने हुन्छ । थारु समुदायमा गुरहीलाई नागपञ्चमीको रुपमा मनाइने गरे पनि पहिले नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन थिएन ।
सांस्कृतिक महत्व
पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गौरीशंकर चौधरीले वर्षा सकिएपछिको पहिलो पर्व गुरही हो र थारु समुदायले यसलाई पर्वहरुको शुरुवातको पर्वको रुपमा लिने गरेको बताउनुभयो ।
उहाँका अनुसार यसको आफ्नै धार्मिक महत्व छ । “थारु समुदाय हिन्दु हो कि बौद्धिष्ट त्यो बहसको विषयमा नै छ” उहाँले भन्नुभयो । परापूर्वकालदेखि हिन्दू धर्मको आचरण गरेको देखिन्छ । यस पर्वलाई नागदेवतासँग जोडिनु पनि हिन्दू धर्मकै सम्बन्ध छ ।
सामाजिक महत्व
यसको सामाजिक महत्व भन्नु नै सामूहिक सदभाव हो । थारु समुदाय प्रायः कृषि कार्यमा आवद्ध छ । वर्ष दिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शीतलता दिने काम गर्छ ।
गुठी संस्थानका पूर्व अध्यक्ष मिनराज चौधरीले थारु समुदायमा चाडपर्वहरु जमेरै मनाइन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफँैमा एकताको विषय हो भन्नुहुन्छ । उहाँका अनुसार, यसलाई एकताको सन्देशको रुपमा लिइन्छ । “दिदीबहिनीले दाजुभाइलाई बचाएको संकेत र माया गुरहीमा देख्न पाइन्छ” उहाँले भन्नुभयो, “बालबालिकाले मनाउने पर्व हो गुरही ।”
अर्कोतिर बालबालिकाले मनाउने पर्व हो गुरही पनि भनिन्छ । पहिले यसलाई बालबालिकाहरु मनाउने पर्व भनिन्थ्यो । उहाँले अहिले बालबालिकामा सीमित नरहेको बताउनुभयो । युवा, वयस्क, गाउँका अगुवा सबैजना सहभागी भएर सामूहिकरुपमा गुरही पर्व मनाउने गरिएको उहाँको भनाइ छ ।