• १३ साउन २०८१, आइतबार

भग्नावषेश बन्यो कुल्लेककोट

कुनै बेला न्याय दिने कोट अहिले आफैँ अन्यायमा

blog

दशरथचन्द नगरपालिका–४, मा रहेको कुल्लेककोट । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, साउन १७ गते ।
कुनै बेला सामाजिक न्याय अन्याय छुट्याउने थलोका रुपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा अहिले आफैँ अन्यायमा परेर भग्नावषेश बनेको छ । कोट भत्केर ढुङ्गा छरपष्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ ।

दशरथचन्द नगरपालिका–४ देवलहाट नजिकै अग्लो डाँडामा रहेको कुल्लेककोट दरवार बाह्रौं सताब्दी अघि निर्माण भएको भनाइ छ । यो कोटमा विसं.१६३० देखि १६५० सम्म रुद्रवीर शाहले राज्य गरेको स्थानीय जानकार उद्धव मार्कण्ड बताउनुहुन्छ ।


मार्कण्डका अनुसार रुद्रवीर २०औं राजाका रुपमा रहेका थिए । त्यसपछि यहाँ राना देवले बैतडी गर्खाको न्याय अन्याय छुट्याउने गरी शासन गरेका थिए । रानादेवको निधनपछि गर्गदेवले  कोटको  परम्परालाई निरन्तरता दिएका थिए ।

कुल्लेककोट नजिकै पञ्चदेवल रहेको छ । देवलको संरक्षण भए पनि कुल्लेककोटको संरक्षण हुन नसकेको ८४ वर्षीय वीरबहादुर चन्द बताउनुहुन्छ । साहित्यकार हेमबाबु लेखकका अनुसार कोट ननिकै हतियार लुकाउन तत्कालीन समयमा मन्दिर जस्तो शैलीमा देवल बनाउने चलन थियो । बैतडीको देवललाई अहिले मन्दिरका रुपमा पूजा हुने गरेको भए पनि तत्कालीनस समयमा राजाहरुको हतियार राख्ने कोत रहेको लेखकले बताउनुभयो । मन्दिरमा कसैले आक्रमाण नगर्ने भएकाले यो शैली अपनाएको उहाँको भनाइ छ ।

आठ वर्ष अघि पुरातात्विक विभागले पञ्चदेवलको जीर्णद्धार गर्ने क्रममा ढाल–तरवार र खुँडा भेटिनुले पनि पञ्चदेवल तत्कालीन राजाहरुले हतिया राख्ने कोत रहेको पुष्टि भएको थियो ।

पञ्चदेवलमा भेटिएको सिलापत्रमा पनि “गर्गदेव पुत्रस्य” लेखिएको पाइनुले यो कुरालाई थप पुष्टि गरेको चन्द बताउनुहुन्छ ।

चन्दका अनुसार कुल्लेककोटको जग्गा अहिले अंश लाग्ने चन्द परिवार भित्रका व्यक्तिका नाममा जग्गा पास भएकाले कोटको संरक्षण हुन सकेको छैन । 


दशरथचन्द नगरपालिका–४ कुल्लेककोट नजिकै पारितर्फ ग्वाल्लेकमा धज्या ढुङ्गा रहेको छ । तत्कालीन समयमा गाउँमा आक्रमण गर्न कटक पसे उक्त धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषमा धदिउन्या (चर्को स्वर निकालेर जानकारी गराउने) चलन रहेको थियो । ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायमा बोल्ने ढुङ्गाको रुपमा पूजा हुने गरेको छ ।

कुल्लेककोटमा रहेका ऐतिहासिक वस्तु सिलालेख, पुरातात्विक मूर्तिको संरक्षण गर्न आवश्य रहेको स्थानीयले बताएका छन् । यहाँ रहेका ऐतिहासिक वस्तुको समयमै संरक्षण हुन नसके मूर्तिहरु चोरी हुनसक्ने खतरा रहेको स्थानीय युवा उद्धव मार्कण्डले बताउनुभयो ।