कविराज घिमिरे
हिले (धनकुटा), साउन १७ गते । बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ।
त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई हुनुहुन्छ। उहाँको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उहाँ बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गर्दै हुनुहुन्छ।
खानेपानीको कुनै पनि स्रोत नभएकाले हिउँदमा पानीको सङ्कट टार्न दुवै जिल्लामा पर्ने यस क्षेत्रका बासिन्दाले बर्खाको पानी यसरी नै बोतलमा भरेर राख्नुपरेको छ। दुई जिल्लाको समन्वयात्मक विकासको तिर्खा पनि उहाँहरूलाई छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ र मोरङको केराबारी गाउँपालिका–१ पाटीगाउँमा पर्ने यो क्षेत्रमा बर्खाबाहेक अन्य समयमा खानेपानीको हाहाकार हुन्छ। डाँडामा रहेको बस्तीमा हिउँदका लागि बर्खामै बलेसी तथा नजिकैको अन्य स्रोत प्रयोग गरी पानी जम्मा गरेर राख्नुपर्छ। ड्रम, घैँटो र बोतलमा राखेको पानीकै भरमा यहाँका बासिन्दा वर्षको छ महिना गुजार्न बाध्य छन्। यसरी जम्मा गरिएको पानी हिउँदमा कपडा धुन, सिँचाइ तथा बस्तुभाउलाई दिन प्रयोग गर्ने गरेको स्थानीय विजय राई बताउनुहुन्छ।
यस क्षेत्रमा पर्ने मोरङको केराबारी गाउँपालिका–१ तर्फ थामडाँडा सुर्के र जैतुनपार्क गरी तीन टोलमा करिब एक सय परिवारको बसोबास छ। त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकातर्फका चुलीध्वजे, पल्लोध्वजे, बालुवाटार, भद्राक्ष, ओडारे टोलमा करिब १५० परिवार बसोबास गर्छन्। दुवै जिल्लाका २५० परिवारका करिब एक हजार व्यक्तिले पानीको समस्या भोग्दै आएका छन्।
यस क्षेत्रमा पानीको समस्या उहिल्यैदेखि हो। बाउबाजेले टाढाको खोला–खोल्सीबाट पानी बोकेर ल्याएर जोहो गर्ने गरेका थिए तर पछिल्लो समय ड्रम, विभिन्न पेय पदार्थका बोतल पाउन थालेपछि केही वर्षयता स्थानीयवासीले बर्खाको पानी जोहो गर्न थालेका हुन्।
कपडा धुन, सिँचाइ तथा बस्तुभाउलाई दिन बर्खाको पानी जम्मा गरे पनि हिउँदमा खानेपानी जोहो गर्न भने स्थानीयवासीलाई अहिले पनि सकस छ। हिउँदमा खानेपानीको जोहो गर्न अहिले पनि करिब दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउनुपर्ने बाध्यता छ। खानेपानीको जोहो गर्दै बिहान बित्ने गरेको स्थानीय कल्पना राई बताउनुहुन्छ। “यहाँ प्रत्येक घरका एक जना सदस्यको एक बिहान खानेपानी बोकेरै बित्ने गरेको छ” उहाँ भन्नुहुन्छ।
त्यसो त यस ठाउँमा खानेपानी ल्याउन पहलै नभएको भने होइन। केही वर्षअघि विदेशी दाताको सहयोगमा स्थानीय ध्वजेडाँडामा कुहिरोबाट पानी सङ्कलन गर्ने परियोजना ल्याइए पनि सफल हुन नसक्दा स्थानीयवासीको समस्या लम्बिएको हो। अहिले पनि सुनसरी डिभिजन खानेपानी कार्यालयको सहयोगमा करिब दुई करोड रुपियाँको लागतमा स्थानीय खोलाबाट लिफ्ट गरी पानी ल्याउने तयारी गरिएको छ।
त्यसका लागि जैतुन पार्क क्षेत्रमा एक लाख २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको छ। गत आर्थिक वर्षदेखि सुरु भएको सो आयोजनाको
ट्याङ्की निर्माणबाहेक अन्य काम अघि बढ्न नसकेको स्थानीय युवराज राईले बताउनुभयो। “गत वर्ष त बजेट छुट्टियो र अलिकति काम भयो तर यस वर्ष बजेट नै परेन अनि काम गर्न पाइएन” राईले भन्नुभयो। स्थानीयवासीले दुई दशक अघिदेखि खानेपानीका लागि तत्कालीन जिल्ला विकास समितिमा माग गर्दै आएकामा बजेट अभावका कारण ठूला योजना सञ्चालन गर्न नसकिएको तथा भरपर्दो मूल नभेटिएकाले पानीको समस्या समाधान हुन नसकेको राई बताउनुहुन्छ।
अहिलेसम्म खानेपानी समस्याबारे कुनै जानकारी नै नआएको जिल्ला समन्वय समिति धनकुटाले जनाएको छ। “समितिमा हामी आएपछि त सो क्षेत्रको समस्याबारे कुनै जानकारी नै आएको छैन। स्थानीय तहसँग अब बुझ्छु” जिल्ला समन्वय समिति धनकुटाका सभापति निरन तामाङले भन्नुभयो। जिल्ला समन्वय समिति मोरङका सभापति अजम्बर राईलेचाहिँ रोकिएको काम अगाडि बढाउन तथा उक्त क्षेत्रमा खानेपानीका लागि जुनसुकै हालतमा पहल गर्ने बताउनुभयो।