• १९ चैत २०८१, मङ्गलबार

भिडियो कुराकानी

स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिन्छ

blog

काठमाडौं, साउन १६ गते । बच्चा जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका प्रमुख पोषण अधिकृत लिला विक्रम थापाले बच्चा जन्मनेबितिकै एक घण्टाभित्रमा स्तनपान गराउँदा १६ देखि २२ प्रतिशतसम्म नवजात शिशुको मृत्युदर घटाउन सकिने बताउनुभयो ।

अध्ययनहरुले स्तनपानको अभ्यासलाई सुधार गरिएमा वातावरणलाई स्वस्थ राख्नुका साथै वार्षिक रुपमा विश्वभर आठ लाख २० हजार शिशुहरुको ज्यान जोगाउन सकिने देखाएको थापाले चर्चा गर्नुभयो ।  
शिशु जन्मेदेखि ६ महिनासम्म बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरु आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा आमाको दूधमात्र खुवाउन चिकित्सको सुझाव छ ।

पोषण अधिकृत थापाका अनुसार आमाले आफ्नो बच्चालाई दूध चुसाउनुलाई स्तनपान भनिन्छ । आमाको दूध बच्चाको लागि अमृत समान हुने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्तनपान बच्चाको पहिलो खोप हो । स्तनपानले बच्चाको रोग प्रतिरोधात्मक क्षमत वृद्धि गर्छ ।


भिडियो : मनोरत्न शाही

स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई उत्तिकै फाइदा हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्तनपानले आमा र बच्चा दुवैलाई निकै फाइदा गर्छ । स्तनपान गराउँदा स्तानपान गर्दा निस्कने हर्मनले आमाका विभिन्न किसिमका तनावलाई कम गर्छ । यसका साथै बच्चालाई चाहिने सम्पूर्ण आहार साथै भिटामिन ‘ए’ आइरन, भिटामिन ‘सी’ को मात्रा दूधबाट प्राप्त गर्न सक्छ ।”

नेपाल जनसाङ्खीक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्कअनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशत र शिशु जन्मेको एक घण्टाभित्रै स्तानपान गराउनेको सङ्ख्या ५५ प्रतिशत रहेको देखाएको छ । त्यस्तै दुई वर्षसम्म स्तनपान गराउने ८८ प्रतिशत रहेको उक्त अध्ययनले देखाएको छ ।

सरकारले सन् २०३० सम्म दुई वर्षसम्म स्तनपान गराउनेको सङ्ख्या ९० प्रतिशत बनाउने लक्ष्य लिएको छ ।

बच्चाको शारीरिक तथा मानसिक तवरमा हुने वृद्धि विकासलाई मध्यनजर गर्दै प्रत्येक वर्षको अगस्ट १ देखि ७ (यो वर्ष नेपाली मिति साउन १६ देखि २२ गतेसम्म परेको छ) तारिखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ ।

नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गर्दै मनाइदै छ । यो वर्षको नारा ‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ’ रहेको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका प्रमुख पोषण अधिकृत, लिला विक्रम थापासँग स्तनपानको महत्त्व, नेपालमा स्तनपानको अवस्थालगायत विषयमा केन्द्रित भई गरिएको भिडियो संवाद ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।