• ७ जेठ २०८१, सोमबार

मादी–कोरीसम्म केबलकार बन्ने

blog

कास्की, साउन १६ गते । कास्कीको मादी गाउँपालिकाको सिक्लेसदेखि कोरीसम्म केबलकार बन्ने भएको छ । 

निर्माणको स्वीकृति पाएसँगै केबलकार निर्माणका लागि स्थानीयबीच पहिलो वातावरणीय मूल्याङ्कन (ईआईए)सहितको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि समूहले नै कास्कीको मादीमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । करिब चार अर्बको लागतमा केबलकार निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । केबलकार ६.४ किलोमिटरको हुनेछ । सिक्लेसको प्वरयुमदेखि कोरिसम्म तीनवटा स्टेसन  प्वरयुम, तसल्ही र कोरी)सम्म तीनवटा स्टेसन रहनेछन् ।

केबलकारको पहिलो स्टेसन पाँच सय मिटर उचाइमा हुनेछ भने अन्तिम स्टेसन अर्थात् कोरीसम्म पुग्दा त्यसको उचाइ तीन हजार आठ सय मिटर रहनेछ । सिक्लेस–कोरी केबलकारअन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार पाँच सय मिटरको उचाइमा १२० शय्या क्षमताको रिसोर्ट निर्माण गरिने कम्पनीको घोषणा छ ।

केबलकारको १५ प्रतिशत सेयर स्थानीय बासिन्दालाई वितरण गरिने निर्माण कम्पनीले जनाएको छ । कोरीमा वर्षको आठ महिना हिउँ जम्ने गर्छ । पैदलमा सिक्लेसबाट कोरी पुग्न एक दिन लाग्छ ।