• ९ मंसिर २०८१, आइतबार

कलरिजलाई सम्झँदै पोखरेली

blog

खानेपानीका थोपा थाप्दै पोखरेली उपभोक्ता ।

रमेश पौडेल

पोखरा, साउन १५ गते ।

वाटर, वाटर, एभ्रिह्वेयर

नर एनी ड्रप टु ड्रिङ्क

(पानी, जताततै पानी तर पिउन छैन एक थोपा पानी) 

यी हरफ नुनिलो पानीले भरिएको समुद्री यात्रामा काकाकुल बनेको एक नाविकले पिउन एक थोपा पनि पानी नपाउँदा व्यक्त गरेका हुन्। विश्व प्रसिद्ध कवि सामुएल टेयलर कलरिजले सन् १८३४ मा लेखेको दि रिम अफ दि एन्सिएन्ट मारिनरमा उल्लेख गरेको यो पङ्क्ति समुद्रको हो। तर यो तालैतालको सहर पोखरामा अहिले खानेपानीको चरम अवस्थालाई अभिव्यक्त गर्न उत्तिकै सान्दर्भिक देखिन्छ। पोखरा क्षेत्रमा नौवटा ताल छन्।

तालैतालको सहर पोखरामा खानेपानीका दीर्घकालीन योजना नहुँदा खानेपानीको चरम अभाव छ। यो तत्कालको समस्या पनि होइन, पोखरेलीहरू लामो समयदेखि खानेपानीको समस्या झेल्दै छन्। उनीहरूको यो भोगाइ कलरिजको नाविकको जस्तै छ।

पोखराको जनसङ्ख्या छ लाखभन्दा बढी रहेको अनुमान छ। तर खानेपानी संस्थानले भने तीन लाखलाई मात्र पुग्ने खानेपानी वितरण गर्छ। दैनिक झन्डै पाँच करोड लिटर पानी आपूर्ति हुने गरे पनि पोखरेलीको तिर्खा मेटिएको छैन। संस्थानले भने चार लाख जनसङ्ख्या लक्षित गरेर अझै डेढ करोड लिटरमात्र पानी अपुग भएको स्वीकार गर्छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एसियाली मुलुकमा प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक पर्छ। संस्थानकै अनुमानित जनसङ्ख्याका लागि यो मापदण्डअनुसार दैनिक पाँच करोड ४० लाख लिटर पानी उपलब्ध हुनुपर्छ। पर्यटकीय नगरी पोखरामा आउने पर्यटक यही परिमाणमा पानी खोज्छन्। तर संस्थानले मात्रा मात्र होइन, गुणस्तर पनि न्यून रहेको पानी उपलब्ध गराउँछ। 

वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जित भन्नुहुन्छ, “खानेपानी संस्थानले नियमित रूपमा खानेपानी दिन सकेको छैन। सातामा एक/दुई पटकमात्र धारामा पानी आउँछ। आएको पानी पनि लेदो र मैलो हुन्छ।” उहाँ सोको व्यवस्थापन समयमै हुनुपर्ने बताउनुहुन्छ। पोखराको सिर्जनाचोक, रामबजार, एयरपोर्ट, छोरेपाटन, टुटुङ्गा, बिरौटा, चाउथे, भोटेचौतारालगायत क्षेत्रमा खानेपानीको चर्को अभाव छ।

खानेपानी संस्थान पोखराले हाल मर्दिखोलाबाट दैनिक चार करोड लिटर खानेपानी आपूर्ति गर्दै आएको छ। यसैगरी भोटेखोला, बालधारा, कालीमुढासहित बोरिङबाट खानेपानी आपूर्ति हुन्छ। तीमध्ये दैनिक भोटेखोलाबाट २५ लाख लिटर, बालधाराबाट पाँच लाख लिटर, कालीमुढाबाट ३५ लाख लिटर र बोरिङबाट ३५ लाख लिटर खानेपानी आपूर्ति भइरहेको छ। आपूर्तिमध्ये ३० प्रतिशत पानी चुहावट हुने गर्छ। 

खानेपानी संस्थान पोखराका प्रमुख आशिष कार्कीका अनुसार झन्डै ४७ हजार धाराबाट पोखरेलीलाई पानी वितरण भइरहेको छ। त्यसबापत वार्षिक झन्डै २७ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ। पोखरेलीको मागअनुरूप खानेपानी आपूर्ति गर्न सकेमा यो आम्दानीलाई दोब्बर वृद्धि गर्न सकिने कार्कीको भनाइ छ। 

पोखराको खानेपानीका लागि स्रोत अभाव नभए पनि नीतिगत र इच्छाशक्ति अभावका कारण पोखरेलीले खानेपानी अभाव झेल्दै आएका छन्। अहिले जापानी सहयोग नियोग जाइकाले पोखराको खानेपानी शुद्धीकरणका लागि काम गरिरहेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ। जाइकाको योजनाअनुरूप खानेपानी शुद्धीकरण भए पनि पोखरेलीले पर्याप्त रूपमा खानेपानी प्रयोग गर्न पाउने छैनन्। 

यस अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले समयमै योजना छनोट गरेर पानी ल्याउन सकेनन् भने जनघनत्व बढ्दै गएको पोखरामा थप सङ्कट हुन सक्छ। खानेपानी समस्या समाधानका लागि पोखरा–११, फूलबारीमा बोरिङबाट निकालिएको झन्डै साढे तीन लाख लिटर पानी वितरण गरिँदै आएको छ। 

पोखराको भौगोलिक अवस्थाका कारण धेरै ठाउँमा बोरिङ खन्नु उपयुक्त मानिँदैन। खानेपानी संस्थानले झन्डै साढे दुई करोड खानेपानी वितरणका लागि नजिकै रहेको हर्पनखोलामा अध्ययन थालेकोमा सो स्थान रामसार सूचीमा परेकाले स्थगित हुन पुगेको छ। संस्थानले हाल विजयपुर पश्चिम अर्थात् साबिकको पोखरालाई मात्र खानेपानी आपूर्ति गर्ने गरेको छ। 

त्यसैले पोखरामा चलेका निजी क्षेत्रका बोरिङले ट्याङ्करमार्फत धेर–थोर आपूर्ति हुने गरेको छ। यसले राहत त भएको छ तर वातावरण प्रदूषण र उपभोक्तालाई महँगो भएको छ। महानगरवासीलाई खानेपानी आपूर्ति गर्नुपर्ने दायित्व महानगरको हो तर त्यसो हुन सकेको छैन। खानेपानीका विज्ञहरू भन्छन्, “पोखराको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न मर्दीमात्र हैन, मादीसम्म पुग्नुपर्छ। मर्दीमा भर परियो भने विगतमा सेतीमा आएको भीषण बाढीजस्ता प्रकोपले खानेपानी संरचना भत्काएर यहाँ खानेपानीको हाहाकार मच्चिन सक्छ।”

पोखरा महानगरपालिकाका प्रवक्ता भरतराज पौडेल आफ्नो घरको धारामा एक सातादेखि पानी नआएको गुनासो गर्नुहुन्छ। उहाँले खानेपानी व्यवस्थापनको सम्पूर्ण जिम्मा खानेपानी संस्थानकै भएको बताउँदै संस्थानले सक्दिनँ भनेर महानगरपालिकालाई भने महानगरले विकल्प खोज्ने दाबी गर्नुभयो।

संस्थानका प्रमुख कार्कीले पनि अब पोखरामा खानेपानीको विकल्प खोजिरहनुपर्ने बताउनुभयो। तर उहाँको विकल्प प्रवक्ता पौडेलको जस्तो व्यवस्थापनको नभई स्रोतको विकल्प हो। उहाँले विजयपुर, फुस्रेखोलालगायतका ठाउँमा इनार खनेर पानी थिग्राई लिफ्टिङ गर्नेबारे अध्ययन भइरहेको बताउनुभयो।