राममणि दाहाल
हेटौँडा, फागुन १६ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा भएको घटनामा बाबुआमाको प्रतिकारमा छोराको मृत्यु भएको छ ।
अदुवाबारीका वर्ष ६३ का मीनबहादुर भ्लोनको भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेको आरोप लागेका भरथकुमार भ्लोनको शुक्रबार मृत्यु भएको छ । सुर्खानी दल्ने अरु कोही नभई आफ्नै छोरो भएको दाबी प्रहरीको छ तर आमा र बाबुले भने आफूहरुले नचिनेको भनाइ छ ।
मीनबहादुर र श्रीमती ६४ वर्षीय देवीमाया भ्लोन खाना खाइरहेको अवस्थामा चोरी प्रयास गरेको आरोप लागेका छोरा भरथकुमार भ्लोनमाथि मिनबहादुर दम्पत्तिबाट भएको प्रतिकारमा गम्भीर घाइतेभएका भरथकुमारको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा शुक्रबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार मिनबहादुर दम्पत्तिले आफ्नै घरमा खाना खाइरहेको अवस्थामा गएराति ३९ वर्षीय भरथकुमारले मिनबहादुर भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । उता मिनबहादुर दम्पतीले यसअघि चोरी गर्न आउने भरथकुमारलाई आफूहरुले नचिनेको बताउँदै आएको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक अर्यालले भरथकुमारको पहिचान खुलेको र मिनबहादुरको छोरा भएको बताउनु भयो ।
प्रहरी नायव उपरीक्षक अर्यालले निज भरथकुमारले खुर्सानीको धुलो छर्केर एक्कासि घरमा प्रवेश गरी गर्न लाग्दा मिनबहादुर भ्लोन र श्रीमती देवीमाया भ्लोनले भान्छामा रहेको सामानले प्रतिकार गर्दा भरथकुमारको टाउको, मुख, शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएको बताउनुभयो ।
यस्तै, घरधनी मिनबहादुरको हात, मुख र टाउकोमा तथा देवीमायाको हात र आँखा नजिक चोट लागेको छ । प्रहरीका अनुसार मिनबहादुर र देवीमायाको हेटौँडा अस्पतालमा उपचार पछि शुक्रबार थप उपचारका लागि काठमाडौँ पठाइएको छ । भरथकुमारलाई पनि हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो । यसअघि चोरी गर्ने को भन्ने खुलेको थिएन ।
यसअघि ‘चोरी प्रयास गर्ने व्यक्तिको घरधनीसँगको झडपमा मृत्यु’ शीर्षकमा समाचार प्रकाशन भएको लगत्तै मृत्यु हुने छोरा नै भएको प्रहरीले पुष्टि गरेपछि शीर्षक परिवर्तन र समाचार सम्पादन गरिएको छ । – सम्पादक