• १७ फागुन २०८१, शनिबार

क्यालिफोर्नियाका नेपालीले २६ करोडमा खरिद गरे सामुदायिक भवन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । अमेरिकामा ठुलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीले नेपाली सामुदायीक भवन निर्माणका लागि लामो समयदेखि पहल गर्दैआएका थिए । नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) का अध्यक्ष प्रितेश कार्कीले नेपालीको लामो सपना सार्थक भएको बताउनुभयो । उहाँले अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको जानकारी दिनुभयो । बेएरियावासी तपाई सम्पूर्ण सहयोगी हात र मन जोडिएर चन्दा संकलनबाट भवन खरिद गर्न सफल भएका छौं, अध्यक्ष कार्कीले भन्नुभयो, “यो हामी सबैको साझा प्रयत्नको प्रतिफल हो। यो ऐतिहासिक अवसरमा सामुदायिक केन्द्र खरिदका लागि सहयोग गर्नुभएको सबैप्रति धन्यवाद दिन चाहन्छौ।”

बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टी सुरुमा २४ लाख ७० हजार अमेरिकी डलरमा बिक्रीमा राखिएकोमा हामीले हालेको १८ लाख ६० हजारमा अफर परेको बताउनुभयो । उहाँले  गत अक्टोबरमा अफर परेपछि न्यान्स नोभेम्बरदेखि समुदायमा विभिन्न सामाजिक, सांस्कृतिक अभियानमार्फत् सहयोग संकलनमा जुटेको बताउनुभयो । 

अहिले नेपाली समुदायका झण्डै पाँचसय व्यक्ति एवं संस्थाबाट संकलित करिव ७ लाख डलर, न्यायले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरसमेत गरेर ४५ प्रतिशत डाउनपेमेन्ट र वाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको हो। 

हामीले खरिद गरेको भवन करिव १० हजार ८ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ छ। भवनमा ५ सय २८ सिट क्षमताको सभाकक्ष, २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा, ११० भन्दा बढी गाडी पार्किङ र शौचालय रहेको बताउनुभयो ।

अमेरिकाको क्यालिफोर्नियामा रहनुभएका पत्रकार दीपक दाहालले करिव ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म, संस्कृतिअनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिएको बताउनुभयो । उहाँले यसले नेपालीभाषी र नेपाली विभिन्न जातजाती भाषा, संस्कृति र परम्परा मान्ने सदस्यहरुबिच भावनात्मक एकता अझै प्रगाढ पार्ने हाम्रो विश्वास रहेको बताउनुभयो । 

पत्रकार दाहालले यस क्षेत्रमा बसोबास गर्ने नेपालीमध्ये करिव ७ सय व्यक्ति र परिवार प्रत्यक्ष सहयोगबाट जोडिए पनि यो सामुदायिक केन्द्र सबैको साझा सम्पत्ति रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष कार्कीले संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने योजना रहेको बताउनुभयो । उहाँले सिंगो समुदाय एकजुट हुँदा यो कठीन विषय भने होइन, मासिक किस्ताको भार नपर्ने गरी भवन पेडअफ गर्न सकियो भने हामीले समुदायका सेवाका अझै थुप्रै कार्यक्रम गर्न अझै सहज हुनेछ भन्दै सम्पूर्ण बेएरियाबासी नेपाली समुदायसँग आफूले सकेको चन्दा सहयोगमार्फत् यो साझा संकल्पमा जोडिन अपील गर्नुभयो ।