• १७ फागुन २०८१, शनिबार

हिमपातपछि खुम्बुमा प्रहरीको गस्ती

blog

हिउँपरेपछि नाम्चे बजार तथा आसपासका क्षेत्रमा गस्ती गर्दै प्रहरी टोली। तस्बिर : जिल्ला प्रहरी कार्यालय

सन्तोष राउत

सोलुखुम्बु, फागुन १७ गते। सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि चिसोका कारण हुने समस्या सहयोगका लागि त्यस क्षेत्रमा रहेको नेपाल प्रहरीले गस्ती सुरु गरेको छ। यसवर्ष हिउँद यामको पुस माघ महिनामा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो। 

उच्च हिमाली भेगमा शुक्रबार रातिदेखि हिमपात भए हो। समुन्द्र सतहबाट करिब तीन हजार ४५० मिटरको उचाइमा रहेको नाम्चे बजार भन्दा माथिको क्षेत्रमा भारी हिमपात भएको छ। यो वर्षकै ठुलो हिमपात भएपछि स्थानीय हर्षित भएका छन्। 

हिउँ परेसँगै नाम्चे बजार र माथिल्लो क्षेत्र पुरै सेताम्मे भएको नाम्चेका स्थानीयले बताएका छन्। नाम्चे बजारमा करिब एक फिट हिउँ जमेको बताइएको छ। हिउँ परेसँगै चिसो अधिक मात्रामा बढेकाले चिसोबाट जोगिन सतर्कता अपनाउन आग्रह गर्दै नेपाल प्रहरीले बिहानैबाट हिमाली गस्ती सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोलीले शनिबार बिहानैदेखि गस्ती थालेको हो। प्रहरीले हिमाली बस्तीमा पुगेर चिसोका कारण भएको समस्या बारे बुझ्ने र जोगिन सल्लाह दिने काम गरिरहेको छ। 

हिमपातका कारण जाडो फर्कंदा जनजीवन प्रभावित बनेको छ। फागुनको दोस्रो साता बित्दा घट्दै गएको जाडो व्यापक हिउँ परेपछि अत्यधिक चिसो बल्झे हो। सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, पत्ताले, टाक्सिन्दु, वेनी लगायत सदरमुकाम तथा आसपासका डाँडाकाँडामा हिउँ परेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ।