• ५ असार २०८२, बिहिबार

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

blog

काठमाडौँ,  असार ५ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् । 

पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै तीन जना पीडितबाट छ लाख र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै दुई जना पीडितबाट चार लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौँ–७ बाट बुधबार र सरेशलाई काठमाडौँ–२६ बाट मङ्गलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । रासस