काठमाडौँ, असार ५ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरु भएसँगै बागमती नदीमा बाढीबाट सम्भावित जोखिम क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
आज निरीक्षण गर्ने क्रममा वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक काम अघि बढाउन उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका काम, ढल व्यवस्थापन, बागमती सौन्दर्यीकरण लगायतको निरीक्षण गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमती स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराउनुभयो । बुधबार मात्रै उपप्रधानमन्त्री सिंहले विष्णुमतिको बूढानीलकण्ठ क्षेत्रको निरीक्षण गर्नुभएको थियो । रासस