काठमाडौँ, असार ५ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुल विश्वकर्माले जित्नुभएको छ ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न चार दिने प्रतियोगितामा राहुलले कूल २१ अन्डर दुई सय ६७ को स्कोर खेल्नुभयो ।
सिजनको अन्तिम स्पर्धाको उपाधि जित्ने क्रममा राहुलले प्रोफेसनल खेलाडी भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्नुभयो । अन्तिम दिन राहुलले पाँच अन्डर ६७ र भुवनले आठ अन्डर ६४ खेल्नुभयो । समग्रमा १९ अन्डर खेल्नुभएका भुवनले तीन लाख रुपियाँ पुरस्कार पाउनुभयो ।
प्रोतर्फ साविक विजेता सुवाश तामाङ समग्रमा १५ अन्डर दुई सय ७३ स्कोरसहित दोस्रो हुनुभयो । उहाँले एक लाख ८५ हजार रुपियाँ पाउनुभयो ।
समग्रमा १० अन्डर दुई सय ७८ खेल्नुभएका निरज तामाङ तेस्रो हुनुभयो । उहाँले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । कूल १६ लाख रुपियाँ पुरस्कार रासी रहेको प्रतियोगितामा प्रोतर्फ शीर्ष २२ मा रहने खेलाडीले नगद पुरस्कार पाए ।
यस्तै एमेच्योरतर्फ सद्भाव आचार्य दोस्रो र भुटानका एमेच्योर निम दोर्जी तामाङ तेस्रो हुनुभयो । च्याम्पियनसिप अन्तर्गत शनिबार प्रो–एम स्पर्धा हुनेछ ।