• ५ असार २०८२, बिहिबार

रघुगंगा गाउँपालिकाको बजेट ५० करोड

blog

पालिकाको बजेट प्रस्तुत गर्ने तयारीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ।

अमृतप्रसाद पौडेल

म्याग्दी, असार ५ गते । रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभामा ५० करोडको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार आठसय २० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गर्नुभएको छ । त्यसैगरी संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट प्रस्ताव गर्नुभयो ।

चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम पारित भइसकेपछि बजेट प्रस्तुत गरिएको र बजेटमाथि छलफल जारी रहेको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।