जीवछ यादव
लहान, असार ५ गते । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका अधुरा खानेपानीको आयोजनाहरु यसैवर्ष पूरा गरिने बताउनुभएको छ ।
सिरहाको धनगडीमाई नगरपालिका ११ र १३ का स्थानीयहरुको खानेपानीका लागि निर्माण गरिएको डावरटोल नैनपुर खानेपानी आयोजनाको समुद्घाटन गर्दै यस्तो बताउनुभएको हो । समृद्धि र विकासका लागि पहिलो शर्तको रुपमा रहेको खानेपानी हरेक घरमा पुर्याउन नेपाल सरकार दत्तचित भएर काम गरिरहेको मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर जिल्लामा रहेको सयौँ अधुरा खानेपानी आयोजनाहरुलाई पूरा गर्न मन्त्रालयले काम गरिरहेको छ । हरेक जिल्लाका पालिकाहरुलाई अधुरा आयोजनाहरुको बारेमा मन्त्रालयमा समयमा जानकारी गराउन मन्त्रालयले जानकारी गराइसकेको छ ।’
यो सरकार समृद्धि र विकासका लागि रफ्तारमा काम गरिरहेको प्रत्याभूति गराउन चाहेको उहाँले भन्दै समृद्ध नेपाल र सुखी नेपाल बनाउने सरकारको दृष्टिकोण रहेको बताउनुभयो । धनगडीमाई नगरपालिकाले खानेपानी आयोजना अति कम समयमा पूरा गरेकोमा नगरप्रमुख शिवशङ्कर महतोलाई मन्त्री यादवले धन्यवाद दिँदै अन्य पालिकाहरुको लागि प्रेरित गर्ने कार्य भएको प्रशंसा गर्नुभयो । ‘सिराहा जिल्लामा १७ वटै पालिकाहरुले अधुरा योजनाहरुबारे जानकारी समयमा आए अर्को वर्षसम्ममा सबै आयोजनाहरु पूरा गरिनेछ । खानेपानी मन्त्रालयको योजना कागजमा मात्रै सीमित नभए जमिनमा काम गरेर देखाउन प्रतिबद्ध छौं ।’
‘तराई मधेशका जिल्लाहरुमा मात्रै होइन, पहाडी र हिमाली जिल्लाका नागरिकहरुलाई समेत शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले उपलब्ध स्रोत साधनको प्रयोग गरिरहेको छ । मन्त्राालयले कतिपय ठूला परियोजनाहरु प्रदेश र स्थानीय सरकारसँग समेत मिलेर खानेपानीको समस्या समाधान गर्न युद्धट्स्तरमा काम गरिरहेको छ’, मन्त्री यादवले भन्नुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुघनप्रसाद सिंहले मधेश प्रदेश सरकारले चुरे छेउमा रहेको पालिकाहरुमा देखिएको खानेपानीको समस्या समाधान गर्न योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘चुनावी प्रतिबद्धता र खानेपानीको आवश्यकतालाई प्राथमिकतामा राखेर काम भइरहेको छ । आफू यसै चुनावी क्षेत्रबाट निर्वाचित भएकोले चुनावमा गरिएको प्रतिबद्धता पूरा गर्न खानेपानीको समस्या समाधान गर्न लागिपरेकाे छु।’
धनगडीमाई नगरपालिकाका उत्तरी भेगमा स्थानीयहरुले खोलाको पानी पिएर बाँच्नुपर्ने दिन गइसक्यो । स्वास्थ्यको लागि खानेपानीको कार्यक्रम सङ्घ र प्रदेश सरकारको सहयोगमा समाधानउन्मुख रहेको धनगडीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतोले प्रष्टयाउनुभयाे ।
आयोजना सञ्चालनमा आएपछि धनगडीमाई नगरपालिकाका ११ र १३ नम्बर वडाका स्थानीयहरु शुद्ध खानेपानी उपभोग गर्न पाउँदा हर्षित हुँदै सामूहिक रुपमा भन्नुभयो,‘जनप्रतिनिधिहरुद्वारा हाम्रो आवाज सुनियो । खोलाको पानी खानुपर्ने दिनहरु अब सदाका लागि इतिहास बन्यो ।’