• ५ असार २०८२, बिहिबार

पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्नु जरुरी छ : मन्त्री पाण्डे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ।

काठमाडौँ, असार ५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्नु आवश्यक रहेको बताउनुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौँमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताउनुभयो। 

‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्यमबाट समेत उनीहरूमा जागरण ल्याउन जरुरी रहेको बताउनुभयो।

उहाँले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘नयाँ पुस्तालाई अहिले जगाउनु एकदमै जरुरी छ। उनीहरू पलायन हुने मनस्थितिमा छन्। हामीले बडो निराश बनाएका छौँ। यो देशमा केही हुँदैन भनिरहेका छौँ। यो निराशालाई चिर्ने कुरामा हामीले नयाँ पुस्तालाई जागृत गर्नु जरुरी छ। हाम्रो देश ढलेको छैन, युद्धको चपेटामा परेर चौपट भएको छैन। धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटनका धेरै सम्भावना छन्।’

मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असीमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताउनुभयो।