प्रेमराज सिम्खडा
कालीकोट, असार ५ गते । गाउँघरमा हिडेर मादल बनाउने र गीत गाउँदै जीविका चलाउँदै आएका वादी समुदाय पछिल्लो समयमा आफ्नो सुरक्षित भविष्यको खोजीमा लागेका छन् ।
आफ्नो बस्ती विकास भएसँगै दीर्घकालीन योजनाको खोजीमा रहेको ती समुदायका अगुवाहरूको भनाइ छ । पछिल्लो समय जीविकोपार्जनमा सङ्कट आउन थालेपछि सचेतीकरणतर्फ वादी समुदाय लागेका छन् ।
दैलेख दुल्लू नगरपालिका–१, तल्लो डुंङ्गेश्वरस्थित नमूना बस्तीमा बसोवास गर्दै आएका वादी समुदायका करिब ३२ घरधुरी हाल जीविकोपार्जन र रोजगारीको गम्भीर सङ्कटमा परेका छन् । वर्षेनी हुने बसाइसराइले जनसङ्ख्या घटबढ भइरहने यो समुदायका घरहरू २०७९ को जाजरकोट भूकम्प र त्यसपछिका पराकम्पनले चर्किएको छ ।
दुल्लू नगरपालिका–१ का वडाध्यक्ष तर्कबहादुर खड्काका अनुसार पहिले बालुवा, गिट्टी बोक्ने, गाडी लोड–अनलोड गर्ने लगायतका श्रममा आधारित काममार्फत गुजरा चलाइरहेका समुदाय अहिले बेरोजगारीको चपेटामा परेको छ । वर्तमानमा बादी समुदायको प्रमुख चुनौती दीर्घकालीन रोजगारीको अभाव हो, वडाध्यक्ष खड्काले बताउनुभयो ।
वादी समुदायको जीविकोपार्जका लागि अन्यत्र काम गरिरहेको गैरसरकारी संस्थाको पनि ध्यान नगएको गुनासो सो समुदायको छ । वादी समुदायलाई जीविकोपार्जनको अवसर प्रदान गर्न सके, हातमुख जोर्ने समस्या समाधान हुनुका साथै आर्थिक सुधार सम्भव देखिएको वडाध्यक्ष खड्काले सुनाउनुभयो ।
यसअघि हेल्भेटास नामक गैह्र सरकारी संस्थाले बस्तीमा खानेपानी र शौचालय निर्माणमा सहयोग गरेको थियो । तर, वादी समुदायसँग निजी जमिन नहुँदा खेतीपाती गर्न जमिन भाडामा लिनुपर्ने बाध्यता छ । “सरकारले खेतीयोग्य जमिन उपलब्ध गराइदिने हो भने समुदायको आर्थिक अवस्था सुधार हुन सक्छ” खड्काले भन्नुभयो ।
जाजरकोटको नलगाड नगरपालिका–७ स्थित भेरी खोला किनारमा रहेका ४५ घरधुरीको वादी बस्तीको समस्या उस्तै छ । बस्ती पनि उच्च जोखिममा रहेको छ । बाढी, नदी कटान र जलवायुजन्य जोखिमले हरेक वर्ष बस्ती प्रभावित भइरहेको समुदायको भनाइ छ । विगतका अनुभवहरू सुनाउँदै, समुदायका सदस्यहरूले भारी वर्षाका कारणले बाढी आउने र बस्ती डुबानमा पर्ने, साथै व्यक्तिगत सामानहरू नोक्सान हुने अवस्था दोहोरिने चिन्ता उहाँहरूमा छ ।
गत वर्ष (२०८१) भेरी खोलाको बाढीले बस्तीमा क्षति गरेको थियो । यस वर्ष विगतका वर्षभन्दा धेरै वर्षाको सम्भावना रहेको भन्ने जानकारी विभिन्न सञ्चारका माध्यमबाट प्राप्त भएको र उक्त समाचारले यस समुदायमा झन धेरै चिन्ता थपेको कुरा स्थानीय वादी समुदायका अगुवाहरूको भनाइ छ ।
“हामी तीन पुस्तादेखि यही बसिरहेका छौं, तर नाममा न जमिन छ, न घर” नलगाड नगर कार्यपालिका सदस्य सीता वादीले गुनासो गर्नुभयो । बाढी नियन्त्रण, विकासका परियोजना र जमिन अभावले हामीहरूको अस्तित्व सङ्कटमा परेको छ । खाली नागरिकता मात्र भएर हुँदैन, वादीको दुखेसो छ ।
२०७८ को जनगणना अनुसार देशभर ११ हजार ४७० मात्र वादी समुदायका सदस्य छन् । तर २०६८ मा ७३ जिल्लामा फैलिएको समुदाय हाल ४४ जिल्लामा मात्र सीमित देखिन्छ । अधिकारकर्मीका अनुसार जनगणनाको लापरबाही र थर परिवर्तनका कारण सङ्ख्या कृत्रिम रूपमा घटेको हो ।
वडा सदस्य मुकुन्दबहादुर शाहीका अनुसार केहीको आर्थिक अवस्था सुधारिएको छ भने धेरैजसो अझै पनि दैनिक गुजारामै सङ्घर्षरत छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा विकास साझेदारहरूले समुदायबाट छनोट गरिएका योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गरेमा, वादी समुदायको जीवनस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा स्थानीयको छ ।