काठमाडौँ, फागुन १७ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्रदान गरिएको छ ।
योङ स्टार फाउन्डेसनले शनिबार राईलाई एक लाख रुपियाँ पुरस्कारसहित उक्त सम्मान गरिएको हो । फाउन्डेसनका अध्यक्ष एवं पूर्व खेलाडी मोहनविक्रम सिंहले प्रीतिलाई सम्मान प्रदान गर्नुभयो ।
राईले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हालै सम्पन्न महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ । राईले विभागीय टोली एपिएफ क्लबलाई महिला लिग च्याम्पियन बनाउन ठुलो भूमिका निर्वाह गर्नुभएको थियो ।
सम्मान पाएपछि राईले आगामी दिनमा फुटबलमा थप राम्रो गर्न उत्साह थपेको बताउनुभयो । कार्यक्रममा फुटबलका पुराना खेलाडीको उपस्थिति रहेको थियो ।