• १७ फागुन २०८१, शनिबार

डढेलो नियन्त्रण पूर्व तयारीका लागि नमुना अभ्यास

blog

ज्ञानु पंगेनी  

मध्यविन्दु, फागुन १७ गते । वन डढेलो नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत शनिवार स्थलगत नमुना अभ्यास गराइएको छ। नवलपरासी पूर्व (नवलपुरको) कावासोती १३ मा रहेको शान्ति मध्यवर्ती सामुदायिक वनमा स्थलगत नमुना अभ्यास गराइएको हो ।

वन डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्यले स्थलगत अध्यास गराइएको हो । गैँडाकोटमा रहेको सहमति संस्थाको, प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना अन्तर्गत आयोजना गएको कार्यक्रममा वन डढेलो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्दै स्थलगत अध्यास समेत गराइएको हो । कावासोती नगरपालिकामा रहेका आठ वटा र हुप्सेकोट गाउँपालिकामा रहेको १० वटा सामुदायिक वन समिति सदस्य तथा वन हेरालु गरी ४५ जनालाई तालिम प्रदान गरेर अध्यासमा समेत संलग्न गराइएको थियो । 

वन डढेलो नियन्त्रण गर्ने विभिन्न उपकरण तथा सामग्री संस्थाले यस अघि नै प्रदान गरेको थियो । सोही उपकरणको प्रयोग गरी अध्यास गराइएको हो । डढेलो नियन्त्रणमा व्यक्तिले लगाउने ज्याकेट, जुत्ता, हेलमेट पञ्जा तथा आगो निभाउनका लागि पानी सहितको स्प्रे टङ्की, झ्यापे, गैती लगायतका सामग्री प्रदान गरेको परियोजनाका संयोजक खेमराज खनालले  बताउनुभयो । 

अध्यास पूर्व परियोजनाका संयोजक खनालले  डढेलो नियन्त्रण गर्न प्रयोग हुने सामग्रीको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँदै व्यक्तिगत सुरक्षा पहिलो प्राथमिकता हुनेमा जोड दिनुभएको थियो । डढेलो नियन्त्रणमा  व्यक्तिगत सुरक्षाका सामग्रीको प्रयोग कम हुने गरेको भन्दै उहाँले व्यक्ति सुरक्षित रहे सबै कुरा सुरक्षित हुने हुँदा बताउनुभयो । 

वनमा आगलागी भएको कुरा थापा पाएपछि वन समिति मार्फत सरोकारवाला सबै निकाय, वन कार्यालय, प्रहरी, प्रशासन, स्थानीय सरकार तथा सञ्चारकर्मी सबैलाई सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । यसो गर्दा सबैले सूचना पाउने र नियन्त्रणमा सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो । 

यस्तै डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत अर्जुनप्रसाद सापकोटाले वन डढेलो लाग्दा आफूसँग भएका उपकरणसँगै वनमै भएका प्राकृतिक वस्तुबाट समेत नियन्त्रण गर्न सकिने बताउनुभयो । सामग्रीहरू लान नमिल्ने भौगोलिक बनावट भएको वनहरूमा स्याउला तथा माटोको प्रयोग गरेर पनि आगो नियन्त्रण गर्नुपर्ने बताउनुभयो । 

अध्यास गर्नुभन्दा पहिले तालिम दिँदै समेत वन अधिकृत सापकोटाले वन डढेलो नियन्त्रण गर्न पूर्व तयारीमा कस्ता क्रियाकलाप गर्नुपर्छ भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो । वन डढेला नियन्त्रणका लागि सर्वप्रथम वनमा झरेका सुकेका पात पतिङ्गर जम्मा गरेर पोल्ने, वनभित्र रहेका झाडी सबै सफा गर्ने र वनको सीमा वरिपरि र वनको बिचमा अग्नि रेखा बनाउने जस्ता काम गर्नुपर्ने बताउनुभएको थियो । 

परियोजनाका संयोजक खनालले संस्थाले नवलपुर र चितवनका गरी ३५ वटा सामुदायिक वन समूहका ५०७ जना समिति सदस्य तथा ९० जना वन हेरालुको बिमा गरेको जानकारी दिनुभयो । वन समितिको तीन लाख रुपिँया र हेरालुको सात लाख रुपिँया बराबरको बिमा गरेको बताउनुभयो । 

जसबाट दुई जना वन हेरालु र एक जना समिति सदस्य गरी तीन जनाले बिमा बापतको रकम समेत प्रँप्त गरिसकेको उहाँले बताउनुभयो । गत वर्षबाट सुरु गरिएको बिमा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको उहाँको भनाइ छ ।

यसैगरी नवलपुर र चितवनका विभिन्न सामुदायिक वनमा गत वर्ष २८. ४५ किलोमटिर अग्नीरेखा निर्माण गरिएको र यस वर्ष १८ किलोमिटर अग्नीरेखा निर्माण गर्नेगरी काम सुरु भएको समेत जानकारी दिनुभयो ।