घोराही समाचारदाता
घोराही, जेठ ३१ गते । दाङमा एक लाखभन्दा बढी घरपरिवारमा पाइप लाइनमार्फत धारा विस्तार गरेर पानी पुर्याइएको छ । खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार २६६ घरपरिवारमध्ये एक लाख एक हजार आठ घरमा पाइप लाइनमार्फत पानी पुगेको छ ।
जिल्लामा खानेपानीको पहुँच ६२.२५ प्रतिशत पुगेको हो । खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जिल्लामा सबैभन्दा धेरै शान्तिनगर गाउँपालिकामा छ हजार ९१९ घरपरिवारमध्ये छ हजार २१८ घरमा पाइप लाइनमार्फत खानेपानीको पहुँच पुगेको जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७६१ घरपरिवारमध्ये ३० हजार ९३४ घरपरिवार, तुलसीपुर उपमहानगरपालिकामा ४६ हजार १८ घरधुरी रहेकोमा २९ हजार १५३, दङ्गीशरण गाउँपालिकामा पाँच हजार ८२५ घरधुरी रहेकोमा चार हजार ३३७ घरपरिवारमा खानेपानी पुगेको छ । बबई गाउँपालिकामा सात हजार ५२७ घरधुरी रहेकोमा पाँच हजार १२ घर, राप्ती गाउँपालिकामा ११ हजार ८२६ घरधुरी रहेकोमा सात हजार १४८ घर, गढवा गाउँपालिकामा नौ हजार ९६४ घरधुरी रहेकोमा छ हजार ७८३ घरपरिवारमा खानेपानीको धारा पुगेको छ ।
लमही नगरपालिकामा १३ हजार ४५८ घरधुरी रहेकोमा आठ हजार २२६ घरपरिवार, बगलाचुलीमा पाँच हजार १३९ घरपरिवारमध्ये एक हजार ८१९ घरपरिवार र सबैभन्दा कम राजपुर गाउँपालिकामा पाँच हजार ८२९ घरपरिवारमध्ये एक हजार ३७८ घरधुरीमा मात्रै पाइप लाइनमार्फत घर घरमा खानेपानी पुगेको छ । जिल्लामा अझै ६१ हजार २५८ घरपरिवारमा पाइप लाइनमार्फत पानी पुर्याउनुपर्ने उहाँको भनाइ छ । कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, “जिल्लामा अझै करिब ३८ प्रतिशत घरपरिवारमा पाइप लाइनमार्फत शुद्ध पानी पुर्याउनुपर्ने भए पनि सीमित बजेट र धेरै योजना भएकाले काम गर्न समस्या छ ।”
कार्यालय प्रमुख न्यौपानेका अनुसार पूर्वाधारभन्दा खानेपानीमा जोड दिँदै जिल्लामा यो वर्ष बजेट अभावका कारण ओभरहेड ट्याङ्की निर्माण नगरेरै केही स्थानमा सिधै पानी सञ्चालन गरिएको छ । घोराही उपमहानगरपालिका–१६, बाहुनडाँडा, दङ्गीशरण स्किम–२, दङ्गीशरणकै बागर, सिम्ठाना सिम्ठानी र लमहीको सतबरिया जहरे खानेपानी आयोजनालगायतका सात स्थानमा बजेट अभावका कारण ओभरहेड ट्याङ्की निर्माण नगरेरै पानी वितरण गरिएको छ ।
न्यौपानेका अनुसार जिल्लामा २० वटा विभिन्न आयोजनाका लागि मर्मतसम्भार कार्यकर्ताको तालिम सञ्चालन, १० वटा खानेपानी आयोजनामा क्लोरिनेसन डोजिङ सिस्टम जडान भएको छ । खानेपानी तथा सरसफाइ कार्यालय दाङले हालसम्म ७२.२८ प्रतिशत पुँजीगत खर्च गरेको छ । २८ करोड ५७ लाख ७९ हजार रुपियाँ बजेटमध्ये २० करोड ५६ लाख ७२ हजार रुपियाँ खर्च भएको छ । जिल्लामा यो वर्ष २६६ वटा आयोजना रहेकोमा १५ वटा योजना सम्पन्न भएका छन् ।