अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ३१ गते । बेनी नगरपालिका–८ मा रहेको कुमारी सहकारीका अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले खोजेको गएको माघ २० गतेदेखि हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोकालगायत २५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
मङ्गला गाउँपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका रोकालाई प्रहरीको रेकर्ड अनुसार भेट्नै नसकेको भन्ने छ तर उहाँले नै हरेक महिना मङ्गला गाउँपालिका–३ को लेटर हेडमा मङ्गला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालपोत कार्यालय म्याग्दीलाई पत्राचार गर्ने गर्नुभएको छ ।
अध्यक्ष रोकाले २०८१ सालको माघ २३ गते लेखेको पत्र मङ्गला गाउँपालिकामा २३ गते नै १९६० नम्बरमा दर्ता भएको थियो । त्यस्तै फागुन २ गते लेखेको पत्र फागुन ६ गते गाउँपालिकाले आफ्नो दर्ता किताबमा दर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो । त्यस्तै चैत १ गते, चैत ३१ गते र २०८२ को जेठ १ गते गरी पाँच पटक पत्राचार भएको छ । आफू बाहिर रहनुपर्ने भएकाले अध्यक्षले गर्ने कामकाजको अधिकार वडा सदस्य भेषकुमारी पुनलाई जिम्मेवारी तोकेर पत्र थमाइएको छ ।
म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले २०८१ साल माघ २० गते सहकारीको बचत अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेपछि त्यो मुद्दामा जोडिएका र हालसम्म सम्पर्कमा नआएका सबै सोही दिनदेखि नै फरार रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माघ २० गते पाँच जना पक्राउ र त्यसपछि फागुन १५ गते जिल्ला अदालतमा अभियोजन दर्ता भयो । २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि २५ गते बाँकी १९ जनाविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।” पक्राउ पुर्जी जारी भएपछि चैत ४ गते यामबहादुर रोकाको घरमा पुर्जी टाँसिएकाले उनी सबैलाई जानकारी भएकै फरार अभियुक्त हुन्, उहाँले भन्नुभयो ।
मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले इमेलमा पत्र आयो, आएको पत्र प्रिन्ट गरेर दर्ता गरिएको प्रतिक्रिया दिनुभयो । उहाँ भन्नुहुन्छ, “कार्यालयमा प्राप्त सबै पत्र दर्ता गर्नु पर्छ र हामीले त्यही गरेका हौँ, पत्र प्राप्त भएको रेकर्ड अद्यावधिक त गर्नै पर्छ नि ।”
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीषक (डिएसपी) सूर्यबहादुर थापाले प्रहरीले खोजी गरिरहेको भए पनि फेला नपरेको बताउनुभयो । उहाँले आफूहरू यामबहादुर रोका मात्रै नभएर कुमारी सहकारीको फरार सूचीमा रहेका १९ जनालाई नै खोजी गरिरहेको भए पनि फेला पार्न नसकेको बताउनुभयो । वडाध्यक्षको कार्यवाहक पाएकी भेषकुमारी पुनले भने आफूलाई अध्यक्षले फरक फरक नम्बरबाट फोन गर्ने गरेको बताउनुहुन्छ । कार्यवाहकको पत्र पाएकी छु, उहाँको फोन आउँछ तर उहाँ कहाँ हुनुहुन्छ थाहा भएन, पुनले भन्नुभयो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकारी ठगीसम्बन्धी मुद्दामा म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बेनी नगरपालिका–१ का राजकुमार थापासहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
२०८१ साल फागुन १८ गते आइतबारदेखि सुरु भएको बयान तथा २२ गते बुधबारसम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्वउपाध्यक्ष थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकेश भन्ने लोकबहादुर पुनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारी रजिस्ट्रार कार्यालय पोखराको पत्र अनुसार गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले फागुन ७ गते थप एक जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदन अनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।
कुल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले गत १५ गते जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो । फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएमा वा म्याद नाघेपछि नियम अनुसार पेस गर्न आदालतले आदेश दिएको थियो । सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर अभियोग पत्र दर्ता गरेको थियो ।