• १७ फागुन २०८१, शनिबार

‘कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्त्वपूर्ण’

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

धरान (सुनसरी), फागुन १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

आज धरान उपमहानगरपालिका-१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभयो । “सार्वजनिक विद्यालयले थप मेहनत गरी निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । 

शिक्षा देश विकासको महत्त्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले श्री शिक्षा सदन स्कुलले यस क्षेत्रको शिक्षाको विकासमा पुर्याएको योगदानको प्रसंशा गर्नुभयो । त्यसअवसरमा विद्यालयका व्यवस्थापन समितिले नीतिगत नेतृत्व गर्ने भएकाले विद्यालयका प्रमुख र शिक्षकहरूले यस भूमिकालाई निर्वाह गरेर विद्यालयलाई उत्कृष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । रासस