• १७ फागुन २०८१, शनिबार

निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग

blog

निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियनको पत्रकार सम्मेलन। तस्बिरः माधवप्रसाद बराल

माधवप्रसाद बराल

कास्की, फागुन १७ गते। निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विद्यालयलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गरेका छन्। निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन केन्द्रीय समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आगामी शैक्षिक सत्रदेखि आफूहरुले राखेका ९ बुँदे माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो। 

समितिका अध्यक्ष शिवलाल उपाध्यायले देशभर रहेका निजी विद्यालय मध्ये १० प्रतिशत विद्यालय मात्र सामाजिक सुरक्षाकोषमा आवद्ध भएको बताउनुभयो। कास्कीमा ५ वटा मात्र निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध भएको उहाँको भनाइ छ। 

उपाध्यायका अनुसार प्रत्येक शिक्षक र कर्मचारीलाई तलब नै उल्लेख गरी नियुक्ति पत्र दिनुपर्ने, नेपाल सरकारले तोकेको बिदा उपलब्ध गराउनुपर्ने, शिक्षक, कर्मचारीको तलब, भत्ता, ग्रेड सबै सरकारी सरह गर्न माग गरिएको छ। 

विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका दुई जना सन्तानलाई छात्रवृत्ति व्यवस्था, शिक्षक, कर्मचारीलाई बोलिने भाषा मर्यादित हुनुपर्ने, विना कारण शिक्षक कर्मचारीलाई हटाउन नपाइने, शिक्षक र कर्मचारीलाई विद्यालयले हटाउन चाहेमा ६ महिनासम्मको सेवा सुविधा दिनुपर्ने, सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्ने पनि उनीहरुका माग छन्। 

यसअघि पनि मागको बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदा कुनै सुनवाइ नभएको उपाध्यायको भनाइ छ। आगामी शैक्षिक सत्र सुरु हुने वैशाखसम्म माग पूरा नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी शिक्षक र कर्मचारीले दिएका हुन्।