रामकृष्ण बोहरा
बागलुङ, फागुन १६ गते। शुक्रबार दिनभर बागलुङलगायत आसपासका जिल्लामा निरन्तर झरी परिरहेको छ। निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको ढोरपाटनका तिलक मल्ल ठकुरीले जानकारी दिनुभयो।
बिहानैदेखि परेको हिउँले पहाड सेताम्मे बनेको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो। हिउँले मध्यपहाडी लोकमार्गको बागलुङ तर्फको झण्डै ७ किमी खण्ड टाँकिएको छ। रुकुमतर्फ पनि हिमपात भएको हो। हिमपातका कारण उक्त सडक भएर सवारी समेत गुड्न सकेका छैनन्।
हिमपातका कारण सडक ढाकिएकोले मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा सचेतना अपनाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभएको छ।
रुकुमका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर रात्रिकालीन सवारीलाई रोक्ने प्रयास पनि भइरहेको सुवेदीले बताउनुभयो। हिमपात बाक्लिदै गएमा थप केही दिन सवारी आगामन रोक्नुपर्ने हुनसक्ने उहाँको भनाइ छ। तत्कालको आवश्यकता हेरेर मात्र यातायात सञ्चालन गर्न सुरक्षा व्यवस्थापन गराइएको सुवेदीले जानकारी दिनुभयो।
चिप्लो र घुम्ती तथा भिरालोमा सडक भएकोले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो। स्थानीय प्रहरी चौकीका जवानले स्थलगत निरीक्षण गरेर हिमपातबारे प्रशासनलाई जानकारी गराएका थिए। लोकमार्गको यो खण्डको बाटो भएर रुकुम पूर्व र पश्चित तथा जाजरकोटबाट काठमाडौंसम्म छुट्ने रात्रिबस र अन्य सवारी पनि गुड्ने गर्छन्।
झरी परेको बेलामा यात्रा गर्न केही कठिनाइ भए पनि किसान भने खुसी भएका छन्। हिउँदे बालीमा असर परिसकेको भए पनि बाँझो जोत्न र गहुँ लगायतको केही खेतीलाई भने राम्रो हुने उहाँको भनाइ छ।