छविलाल पाण्डे
बुटवल, फागुन १७ गते । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटबल रङ्गशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिता आयोजक सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खडकाले फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिनुभयो ।
प्रतियोगितामा डिजेङ्गी फुटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फुटबल क्लब बुटवल, महावीर क्लब काठमाडौँ, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकट युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फुटबल क्लब गरी १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कार तथा प्रमाणपत्र र कप प्रदान गरिनेछ । रूपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खडकाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेल सोमबार आयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्वाइज बुटबल क्लबबिच हुनेछ ।