साहारा लिम्बू
फुङलिङ, चैत १९ गते । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी लिलामीमा बिक्री हुन सकेन । लिलामीका लागि तीन पटक सूचना जारी गरिए पनि एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीमा बिक्री हुन नसकेको हो ।
पाथीभरा माताप्रति आस्था राख्ने तीर्थयात्रीले चढाएको उक्त सुन चाँदी लिलामीका लागि पाथीभरा क्षेत्र विकास समितिले गोरखापत्र दैनिक पत्रिका सर्वप्रथम गत वर्षको फागुन २० गते २१ दिने सूचना जारी गरेको थियो । पहिलो पटक सूचना जारी गरिए पनि कसैको आवेदन नपरेकाले पुनः थप दुई पटक सूचना निकालिएको समितिका सूचना अधिकारी नवीन निरौलाले बताउनुभयो ।
तीर्थयात्रीले सुनचाँदी, भेटी, घण्टी, त्रिशूल लगायतको सामग्री चढाउने गरेका छन् । जसको व्यवस्थापन तथा संरक्षण, क्षेत्र विकास समितिले गरिरहेको छ । समितिले भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आइरहेको छ । सङ्कलित सुन तथा चाँदीलाई समेत बिक्री गरी पाथीभराको विकासमा लगानी गर्ने उद्देश्यका साथ तीन पटक सूचना जारी गरिए पनि कोही व्यवसायीले खरिदका लागि आवेदन नदिएको कार्यालयले जनाएको छ ।
हालको बजार भाउ अनुसार समितिसँग करिब चार करोडभन्दा बढीको सुन तथा चाँदी रहेको छ । सोही रकम बराबरको एकै पटक आवेदन पेश गर्नुपर्ने प्रावधान रहेको तर व्यवसायीसँग त्यस अनुसारको क्षमता नभएकाले आवेदन दिन नसकिएको पाथीभारा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गङ्गाराम शंकरले बताउनुभयो । व्यवसायीले चाहे अनुरूपको र क्षमता अनुसार खरिद गर्न पाउने गरी प्रबन्ध गरिदिन समितिसँग आग्रह गरेपनि त्यो सम्भव नभएको व्यवसायी बताउँछन् । हाल बजारको माग पूर्तिका लागि जिल्ला बाहिरबाट नै सुनचाँदी खरिद गरि व्यवसायीले उपभोक्तालाई सेवा प्रदान गरिरहेको सङ्घले जनाएको छ ।
आवेदन नै नपरेपछि समितिले थप प्रक्रिया अगाडि बढाउने योजनामा रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । त्यस समितिको सल्लाह र सुझावका आधारमा थप प्रक्रिया अघि बढाइने हाङबाङको भनाइ छ ।
भक्तजनहरूले कम तथा उच्च गुणस्तरका सुनहरू चढाउने गरेका छन् । सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रिया अघि बढाएको थियो । यता नेपाली बजारमा भने सुनको मूल्य नयाँ रेकर्डको यात्रमा रहेको छ । मङ्गलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सुनको मूल्य तोलाको एक लाख ७९ हजार सात सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।