प्रतीक पौडेल
मर्चवार (रुपन्देही), चैत १९ गते। सांसद दीपक बोहोराको निधनले सिङ्गो रुपन्देशी शोकमग्न भएको छ। रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहोरा र भैरहवा एक अर्काका पर्यायवाची जस्तै हुनुहुन्थ्यो। उहाँको निधनप्रति आबद्ध दल राप्रपा सत्ताधारी दल एमाले, काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा लगायत राजनीतिक दल र संघसंस्थाले दुःख व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहोराको पार्थिव शरीर मङ्गलबार अपराह्न गृह जिल्ला रुपन्देही ल्याइएको हो। मङ्गलबार बिहान काठमाडौँमा निधन भएपछि हेलिकप्टरमार्फत भैरहवा ल्याएर शव यात्रा समेत गराइएको छ। शवयात्रा पश्चात् उहाँको निजी निवास सिद्धार्थ नगरपालिका वडा नम्बर ३ खजानामा राखिएको छ। त्यहाँ श्रद्धाञ्जली दिन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले) पोलिटब्युरो सदस्य लीला गिरी, खिमलाल भट्टराईलगायत विभिन्न दलका केन्द्र प्रदेश र स्थानीय तहका नेताको बाक्लो उपस्थिति रहेको थियो।
बोहोराको शवलाई भैरहवा विमानस्थलबाट बजारमा शव यात्रा गराइएको थियो। उहाँका शुभचिन्तक र कतिपय नेता कार्यकर्ता र स्थानीय विमानस्थलनै पुगेका थिए भने कतिपयले पार्टी कार्यालय परिसरमै बसेर प्रतीक्षा गरिरहेका थिए।
बोहोराको पार्थिव शरीर कार्यालय परिसरमा पुगेपछि सयौँको सङ्ख्यामा उपस्थित रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता, अन्य पार्टीका नेता कार्यकर्ता, स्थानीय र मतदाताले फूल, माला चढाएर श्रद्धाञ्जली अर्पण गरे। श्रद्धाञ्जली दिन पुग्नुभएका एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतका तुलसी चौधरीले रुपन्देही क्षेत्र नम्बर ३ ले एउटा अभिभावक र विकास प्रेमी नेता गुमाएको बताउनुभयो।
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य देवी चौधरीले दीपक बोहोरा जस्तो ऐतिहासिक नेता गुमाउनु समग्र जिल्लाको लागि दुःखद भएको बताउनुभयो। साहित्यकार विजय सागरले रुपन्देही पुरानो र ऐतिहासिक राजनीतिक व्यक्तित्व गुमाउनु परेको बताउनुभयो।
२०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित बोहराले नेपालको संविधान २०७२ लेखनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आपूर्ति मन्त्रालय २०७३, श्रम तथा रोजगार मन्त्रालय–२०७२, वन तथा भू–संरक्षण मन्त्रालय–२०६७ को मन्त्री बनेर उहाँले काम गर्नुभएको थियो। पञ्चायत कालमासमेत उहाँले विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएको थियो।
२०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट वरिष्ठ नेता बोहोरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। वि.सं. २००७ सालमा जन्मिनुभएका बोहराको मङ्गलबार बिहान १०ः१५ बजे काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको थियो।
नेता खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
यसैबीच, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।
खाणले मंगलबार शोक वक्तव्य जारी गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । तत्कालीन गृहमन्त्रीसमेत रहनु भएका खाणसँग निर्वाचन लडेका बोहराले ३६ हजार सात सय १७ मत ल्याएर विजयी हुँदा नेता खाणले ३४ हजार ३६ मत ल्याउनु भएको थियो ।