गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मुलुकको पछिल्लो अवस्था, नयाँ तथा वैकल्पिक शक्तिबिचको सहकार्य तथा पार्टीका आन्तरिक गतिविधि र भावी योजनाबारे समेत छलफल भएको छ ।
बैठकमा सभापति लामिछानेले वैकल्पिक शक्तिसँग सहकार्य गर्ने तर त्यो चुनावकेन्द्रितभन्दा समग्र मुलुकको हितका लागि हुनुपर्ने बताउनुभएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै राजनीतिक र व्यक्तिगत जीवनमा समेत अनुशासन अत्यन्तै महत्वपूर्ण हुने हुँदा कसैप्रति आक्षेप, आग्रह, पूर्वाग्रहपूर्ण भाषाशैलीलाई निरुत्साहित गर्नुपर्नेमा लामिछानेले विशेष जोड दिनुभएको प्रवक्ता झाले बताउनुभयो ।