• २० चैत २०८१, बुधबार

शिक्षक महासङ्घ : काठमाडौं जाऔं अभियानमा

blog

पत्रकार सम्मेलनमा सहभागी नेपाल शिक्षक महासङ्घका पदाधिकारी ।

काठमाडौं, चैत १९ गते । नेपाल शिक्षक महासङ्घले चैत २० गते बुधबारदेखि दोस्रो चरणको  कार्यक्रमको रुपमा ‘काठमाडौं जाऔं अभियान’ सुरु गर्ने भएको छ । 

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले मङ्गलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयमा पत्रकार सम्मेलन आयोजना गरी शैक्षिक सडक आन्दोलनको कार्यक्रमबारे जानकारी गराएको छ । 

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदको हिउँदे अधिवेशन मङ्गलबार अन्त्य भए पनि आन्दोलन जारी रहने बताउनुभयो । 

अध्यक्ष सुवेदीले भन्नुभयो, “अब संसद अन्त्य हुने भए पनि समिति र उपसमितिमा सहमति भएर दलीय सहमति भयो भने संसदमा पास हुन समय लाग्दैन । यो सधैंका लागि अन्त्य हुँदैन होला । अहिले आएका नेपाली शिक्षक, कर्मचारी अग्रगामी शिक्षा ऐन नल्याइकन फर्केर जाँदैनौं ।” उहाँले यो आन्दोलन लामो समयसम्म जानसक्ने भनाइ राख्नुभयो । 

महासङ्घका महासचिव तुलाबहादुर थापाले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष कक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न सक्ने विद्यालय शिक्षा ऐनको आवश्यक रहेको बताउनुभयो । 

थापाले गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धको पक्षमा स्पष्ट मार्ग निर्माण गर्नसक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताउनुभयो ।