ज्योति पन्थी
बबई (बर्दिया), चैत १९ गते । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी सङ्घका सुन्दरम गुप्ता विजयी हुनुभएको छ ।
नेपाल विद्यार्थी संघकातर्फबाट उम्मेदवार बनेका गुप्ताले तीन सय ४१ मत प्राप्त गरेर विजयी हुनुभएको हो । यससँगै बबई बहुमुखी क्याम्पसमा नेविसङ्घ पुनः २० वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनमा फर्किएको छ । यस अघिका निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले कब्जा जमाउँदै आएको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनबाट नेविसङ्घ स्व्तन्त्र विद्यार्थी युनियनमा फर्किएको हो ।
यसैगरी, उहाँको प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार लक्ष्मण भण्डारीले दुई सय ६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सचिवमा आखिल क्रान्तिकारीका देवेन्द्रबहादुर थापाले तीन सय ८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी निशाकुमारी चौधरीले दुई सय १७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, कोषाध्यक्षमा नागरिक विद्यार्थी समाजका सोनम थारू तीन सय ६१ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पारसकुमार बानियाले दुई सय २९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, सदस्यामा अञ्जली पाण्डे, प्रदीप बुढाथोकी, मो.असिफ गद्धी, शिवानन्द यादव विजयी हुनुभएको छ । समानुपातिकतर्फ नेपाल विद्यार्थी सङ्घले दुई सय ५०, अनेरास्ववियुले दुई सय २३ र अखिल क्रान्तिकारीले एक सय २८ मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ १७ मत बदर हुदा प्रत्यक्षतर्फ भने सात मत बदर हुँदा कुल मतदाता सात सय ६७ रहे पनि जम्मा मत छ सय १७ मत खसेको थियो ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको तर्फबाट उम्मेदवारी दिनुभएका सुन्दरम गुप्तालाई माओवादी निकट अखिल क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले समर्थन गरेका थिए भने एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका लक्ष्मण भण्डारीलाई नेकपा माओवादी निकट अखिल समाजवादीले समर्थन गरेका थिए ।