• ७ जेठ २०८१, सोमबार

निजी विद्यालयको स्थलगत अनुगमन

blog

निशा राई

धरान, साउन १२ गते । निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो । 

प्रमुख राइले धरान १५ को केके इन्टरनेशनल विद्यालय, धरान ९ को विष्णु मेमोरियल स्कूल र धरान १ को युरेका स्कुलको अनुगमन गरेको उपमहानगरका शिक्षा महाशाखा प्रमुख रमेशकुमार साहले जानकारी दिनुभयो ।

अनुगमनमा नगर प्रमुख राई, कार्यपालिका सदस्य विकास भाटी, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख साह र अभिभावक सङ्घका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो । नगर  प्रमुख राईका अनुसार निजी विद्यालयहरुले अत्यधिक मात्रामा शुल्क लिएको धेरै गुनासो आएपछि शुल्क लिएअनुसार सुविधा भए नभएको स्थलगत अनुगमन गर्न निस्किएको बताउनुभयो । 

अत्यधिक शुल्क लिइएको भए समायोजन गर्ने र सरकारको निर्णय विद्यालयहरूले मान्नुपर्ने भनाइ प्रमुख राइको छ । सरकारी नीति निर्णय अवज्ञा गर्ने विद्यालयलाई कारबाही गरिने नगर प्रमुख राईले बताउनुभयो ।

विष्णु मेमोरियल स्कुलका संस्थापक बेतिन्द्र कटवालले शुल्क महँगो भएको गुनासोबारे स्कूलको गुणस्तर, दिने तलबलगायतका कारणले गर्दा महंगो भएको बताउनुभयो । 

विद्यालयका शिक्षकलाई सरकारी शिक्षक सरहको सेवा सुविधा भएको, पढाइ पनि अब्बल भएको, सरकारले तलब वृद्धि गर्दा आफ्नो विद्यालयमा पनि बढाउने गरेको, शुल्क १० प्रतिशत मात्र बढाएको विष्णु मेमोरियल स्कुलका संस्थापक कटवालले बताउनुभयो ।