• १३ पुस २०८१, शनिबार

वर्षा

blog

(स्रग्धरा छन्द)

आइन् वर्षा ऋतु यो क्षितिज–गगनमा मेघमाला उदायो 

ढाक्यो आकाश, कालो जलधर घनले घामको ज्योति भाग्यो ।

दक्र्यो पानी रसीलो मन प्रमुदित भै खेतबारी टुसायो 

धर्ती सारा रसायो सुरभित पृथिवी मग्मगायो र नाच्यो ।।१


डाँडा पाखा रसाए कलकल स्वरमा अम्बुका मूल जागे 

धर्तीमा बालिनाली मलजल थपिए कोख नै त्यो रसाए ।

खेल्दै माटो, हिलोमा छुपुछुपु सबले धान रोपेर नाचे

वर्षाको भेल झेल्दै कृषक सब मिली सिर्जना गीत गाए ।।२


घन्क्यो रोदी, असारे, घरघर सबमा बाउसे नाच्न थाले 

ठोके डम्फू सबैले तनमन भरियो हर्ष उल्लास छाए ।

उर्ले खोल्सा र झर्ना हिमनद चुलिई खेतबारी पटाए

रोपाहाले रसीलो मधुर स्वर झिकी खेतमा प्राण हाले ।।३


नाच्छन् डाँफे निकाल्दै मृदुल स्वरसुधा लेक–बेसी हँसाई 

नाच्छन् रङ्गीन भङ्गी सहित मुजुर अहा ! पङ्ख नै त्यो फिँजाई ।

भाका हाल्छन् सुरीलो युवक र युवती दोहरीमा रमाई 

धर्ती नाच्छिन् र हाँस्छिन् सबतिर हरियो अन्नको बीज पाई ।।४


झम्–झम्–झम् वृष्टि बर्सी अवनितल कतै ताल भै डुब्नथाल्छ 

डङ्–डङ्–डङ् भेल उर्ली बगर–तट यसै बाढमा बग्नथाल्छ।

डाङ्डुङ् चट्याङ गर्जी गगनसतहमा त्रास–सन्ताप बढ्छ

छङ्छङ्छङ् नीर उर्ली नहर घर पसी शोकको गर्त बन्छ ।।५ 


वर्षा हुन् प्राणदात्री सकल भुवनमा हुन् यिनी अन्नपूर्णा

वर्षा नै हुन् रसीली अमृतसम छिटा रापिलो यो धरामा ।

वर्षाले नै बगाई समय–समयमा मृत्युको मार थप्छिन्

वर्षाले नै फुलाई लहलह बिरुवा सृष्टिमा प्राण भर्छिन् ।।६ 

थापाथली, काठमाडौँ