• ५ असोज २०८१, शनिबार

पहिरो प्रभावित ३५० परिवारको विचल्ली

blog

चुरे गाउँपालिकाका पहिरो प्रभावित । फाइल फोटो

धनगढी, साउन ११ गते । कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५६ परिवारको विचल्ली भएको छ । 

पहिरोका कारण विस्थापित ती परिवारहरुको पुनस्र्थापना हुन नसकेपछि विचल्ली भएको हो । उनीहरु एक वर्षदेखि चुरे गाउँपालिकाको वडा नम्बर ४ स्थित राष्ट्रिय वन क्षेत्रमा अस्थायी टहरो निर्माण गरेर त्रिपालमुनि बस्दै आएका छन् । गत वर्षको साउनमा आएको पहिरोले दुई सयभन्दा बढी परिवार विस्थापित भएका थिए । त्यसपछि कात्तिकको बेमौसमी वर्षाको क्रममा पुनः पहिरो खस्न थालेपछि विस्थापित हुनेको सङ्ख्या झन थपिएको थियो । 

पनेरु गडा र ताग गडामा बसिरहेका पहिरो प्रभावित परिवार वर्षा याममा कष्टकर जीवन जीउन बाध्य रहेको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । ‘गाउँपालिकाले गतवर्ष त्रिपाल सहयोग गरेको थियो’, उहाँले भन्नुभयो,‘त्यसपछि कुनै सहयोग गर्न सकिएको छैन । विस्थापित थुप्रै समस्याको सामना गर्न बाध्य छन् ।’ 

विस्थापित भएका पहिरो प्रभावितहरु पुरानै स्थानमा फर्कन सक्ने सम्भावना नरहेको गाउँपालिकाको कार्यालय जनाएको छ । उनीहरुको पुरानो थातथलोलाई पहिरोले तहसनहस पारिसकेको छ । कतिपय गाउँको जमिननै भासिएको जनाइएको छ । विस्थापित परिवारले आफूहरुको सुरक्षित स्थानमा पुनस्र्थापना गरिनु पर्ने माग गर्दै आएका छन् । पहिरोले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन नसकिने वडा नम्बर ६ का पहिरो पीडित पूर्णबहादुर कार्कीले बताउनुभयो । 

विस्थापित परिवार धेरै रहेकाले उनीहरुको व्यवस्थापन गर्न नसक्ने गाउँपालिकाको कार्यालयले जनाएको छ । वडा नम्बर १, २, ४, ५ र ६ का करिब तीन हजारको हाराहारीमा मान्छे विस्थापित भएको जनाइएको छ । उनीहरुको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारलाई गुहारेको गाउँपालिकाका अध्यक्ष बोगटीले बताउनुभयो ।

‘यति धेरै मान्छेको गाउँपालिकाले व्यवस्थापन गर्न सक्दैन’, उहाँले भन्नुभयो,‘अहिलेसम्म कहाँ बसाउने भन्ने केही टुङ्गो लागेको छैन । तर, व्यवस्थापनका लागि प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेका छौं ।’ 

Author

अविनाश चौधरी