• ७ जेठ २०८१, सोमबार

स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, साउन १० गते । प्रहरीले धनुषा, पर्सा र रुपन्देहीबाट स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार जनकपुर उपमहानगरपालिका–१२ कुवाँबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँसहित एक जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका १९ वर्षीय अब्दुल समी रहेका छन् । जनकपुर–२५ लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बिआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त नगदसहि प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले समीलाई पक्राउ गरेको हो ।

त्यस्तै,  वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट स्रोत नखुलेको पाँच लाख रुपियाँ नगदसहित भारत घर भएका ३० वर्षीय बालकृष्ण कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर ०५ एजि ४२५३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको छ लाख ५० हजार भारतीय रुपियाँसहित भारत घर भएका ५० वर्षीय बुद्दिराम बरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाक प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । बरुलाई आवश्यक कारबाहीको लागि राजश्वज अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।