नारद कोहार
तौलिहवा (कपिलबस्तु), बैशाख ४ गते । ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि कपिलवस्तुको तौलिहवामा १० औ प्राचीन कपिलवस्तु महोत्सव हुने भएको छ ।
तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा बैशाख ४ देखि १५ गते सम्म तौलिहवाको वुद्धपद्यम माविको खेल मैदानमा महोत्सव आयोजना गरिएको हो ।
खुला सङ्ग्राहालयका रुपमा रहेको जिल्लामा रहेको सय भन्दा बढी बुद्धसँग सम्बन्धित स्थलहरूको प्रचारप्रसार, अन्तराष्ट्रिय ध्यान खिचेर लगानी भित्राउनका लागि महोत्सव सञ्चालन गर्न लागिएको महोत्सवका स्थलमा गरिएको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष तथा मेलाका संयोजक गयादीन कुर्मीले बताउनुभयो ।
तीन वटा बुद्धको क्रिडा स्थल भए पनि उपेक्षित बनेको ऐतिहासिक स्थलबाट भगवान गौतम बुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र कपिलवस्तुमा रहेका बुद्धसँग जोडिएका स्थानको प्रचार प्रसार गर्नको लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।
जिल्लामा बुद्धले २९ वर्ष व्यतीत गरेका तिलौराकोट, बुद्धत्व प्राप्त गरे पछि पहिलो पटक आएको स्थान कुदान, कनक मुनी बुद्धको जन्मथलो निग्लिहवा र अरौराकोट, शाक्यहरूलाई सामूहिक बध गरिएको सहराहवा, सिसहनियाकोट, धमनिया स्तूप लगायत बुद्धसँग सम्बन्धित स्थलहरूको विकासका लागि महोत्सव मार्फत आवहन गरिने बताइएको छ ।
मेलामा कृषि, पर्यटन, घरेलु तथा लघु उद्यम, वाल उद्यान, समेत रहने छन् । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र एक करोड बढीको कारोबार हुने मेला संयोजक कुर्मीले बताउनुभयो । महोत्सवमा एक सय बढी स्टल रहने छन् ।
महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय लगायतका कलाकारको समेत प्रस्तुती रहनेछ । महोत्सवको उद्घाटन आज साँझ ८ बजे प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापाद्वारा हुने भएको छ ।