• ७ पुस २०८१, आइतबार

सरकारले जनस्वास्थ्यमा चासो दिएनः नेता भट्टराई

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै मंगलबार सांसद भट्टराईले सो आरोप लगाउनुभयो । 

अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकामा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनुभयो । सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताउनुभयो । 

जनस्वास्थ्यको कुरामा सरकार निन्द्राको अवस्थामा रहनु दुःखद् भएको बताउनुभयो । सांसद भट्टराईले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानामा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताउनुभयो । छिमेकी देश भारतमा चार जनामा मंकीपक्स पुष्टि भइसकेकाले नेपाल पनि विपद्बाट टाढा नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ । हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढङ्गले नेपाली जनतालाई सुसुचित गरेको छैन । सरकार मौन बसिरहेको छ ।’ विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसके पनि नेपाल अझ निद्रामा रहेको उहाँले बताउनुभया । 

“हाम्रा सीमानाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन । विमानस्थलहरुमा यसबारेमा कुनै सचेतना दिइएको छै्न” नेता भट्टराईले भन्नुभयो, सञ्चारमाध्यमबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको देखिएको छैन ।” सीमाना खुला भएकाले नेपालमा पनि थ्रेट रहेको उहाँले बताउनुभयो ।

भारतमा यसका ४ वटा केसहरु देखिसकेको उहाँले बताउनुभयो । हामी पनि यसबाट धेरै टाढा छैनौँ । यसको भयानक अवस्थाबाट हामी टाढा छैन । ‘सीमानाकामा कडाइ गर्नुपर्छ, सचेतनता फैलाउनुपर्छ । परीक्षण केन्द्र राख्नुपर्छ’ उहाँले भन्नुभयो ।