काठमाडौं, साउन १० गते । काठमाडौं उपत्यकाका नेवाः समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाउने गर्छन् । गठेमंगललाई घण्टाकर्ण पर्व र भूत भगाउने पर्व पनि भनिन्छ । यो समुदायले मङ्गलबारको दिन घर सफा गरेर भूत फाल्ने गर्छन् ।
संस्कृतिविद हरिराम जाेशीका अनुसार गठेमंगलको मुख्य देवता कुमार हो । सानैमा भगवान कुमारले तार्केश्वर दैत्य मारेर स्वर्ग, पृथ्वी र पाताललाई दानवहरुबाट छुटकारा दिलाएकाले उपहारको रुपमा उहाँलाई घण्टा दिइएको थियो ।
“यसरी कुमारलाई घण्टाको आवाज धेरै मनपर्ने र उहाँको घाँटीमा लगाइएको कारण उहाँलाई घण्टाकर्ण नाम दिइएको हो”, संस्कृतिविद् जोशी भन्नुहुन्छ । संस्कृतिविद् जोशीका अनुसार गठे मंगलको अर्को रुप भैरव पनि हो ।
भूत फाल्न लैजाँदा ‘आजु द्य हा, आजु द्य हा’ भन्ने गर्छन् । जसको अर्थ हो आकाश भैरव । त्यसैले कुमार वा भैरवलाई पूजा गर्ने चलन नै 'गठांमुगः' हो । “यस्तै, नेपालभाषामा गठांमुगः चीगू भन्ने गर्छन्, यस शब्दले घरका थामलाई बाँध्ने र घर निर्माण गर्दा घरका जगलाई एक ढिक्का गरी मजबूतसित बाँध्ने भन्ने बुझाउँछ“, उहाँ भन्नुहुन्छ, “ललितपुरको मछिन्द्ननाथको रथ बनाउँदा जगका ठुल्ठूला थामहरुलाई बेतले बाँध्ने कार्यलाई गठांमुगः चीगू भनिन्छ । त्यही नै जगको मजबुतीमै रथको भविष्य निर्धारित हुन्छ ।''
भिडियो : मनोजरत्न शाही र केशब गुरुङ
यसबाहेक गठेमंगलबारे विभिन्न किंवदन्ती रहेको जोशीको भनाइ छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एक दानव थिए । त्यसलाई सत्य, निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो ।
सत्य वचन सुन्नुपर्ला भनेर सधैँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो र पछि सोही व्यक्तिलाई घण्टाकर्ण भन्न थालिएको हो । यो किंवदन्तीकै आधारमा गठेमंगलमा भूत फाल्ने चलन नै मानिसले बनाएको जोशीले बताउनुभयो ।
संस्कृतिविद् जोशीले नेवाः समुदायमा गठेमंगलको दिन भूत मानेर फालिने वास्तवमा भूत नभएको दावी गर्नुभयो । यो समुदायमा स्थान विशेषमा गठेमंगल मनाउने आ–आफ्नै परम्परा रहेको उहाँको भनाइ छ ।
यस्तै, राससका अनुसार प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीमा मनाइँदैछ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा मनाउँछ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाइ दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कूल परम्परा अनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।
यसैगरी, आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।
यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्छन् ।