• ७ मंसिर २०८१, शुक्रबार

शान्तिको कामना गर्ने पर्व घण्टाकर्ण

blog

काठमाडौँ, साउन १० गते । नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ ‘गठामुंगः’ (घण्टाकर्ण) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाउँदै छन्। घण्टाकर्ण पर्व यस समुदायको मौलिक पर्वमध्ये एक हो। साउन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन यो चाड मनाइन्छ। भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ। 

बेलुका घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाइन्छ। घण्टाकर्ण सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ। भाषा तथा संस्कृतिविद् गणेशराम लाछीले घर चोखो बनाएपछि भूत पन्छाउने कार्य गरिने बताउनुभयो। उहाँले काँचो माटोको सानो दहीको कतारो वा सलिचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाइएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई ‘बौ वाय् ज्या’ अर्थात् भूत पन्छाउने कार्य भनिने प्रस्ट पार्नुभयो। 

लाछीले घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन छ। वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहेको जानकारी उहाँले दिनुभयो। त्यसैगरी साँझपख घरघरबाट ‘छ्वाली प्वाः वायगु ज्या’ (छ्वालीको मुठा फाल्ने कार्य) सम्पन्न गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, ‘धुँ स्वाँ’ र ‘बौ स्वाँ’ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई विषेश ठाउँमा लगेर सेलाउने जानकारी उहाँले दिनुभयो। यसअघि घरका सम्पूर्ण झ्यालढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडा आदि राखी गोबरले लिप्ने प्रचलनसमेत छ । यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्व सुरु भएको सङ्केत पर्वका रूपमा पनि लिने गरिएको छ। रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा ‘सिनाज्या ब्यंकेगु’ पर्व मनाइन्छ।

घण्टाकर्ण पर्व प्राचीन कालदेखि नै प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार यो पर्व काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि प्रचलनमा छ। यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्छ। यस्तै व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रूपमा समेत यसलाई लिइने गरेको संस्कृतिविद् डा. श्रेष्ठ बताउनुहुन्छ। पौराणिक कथनअनुसार महाभारतकालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्छ। शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा. श्रेष्ठले बताउनुभयो। 

सोही दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रूपमा लिइने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्त्वको कार्य नगर्ने परम्परा छ। नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गर्ने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।