• २५ चैत २०८२, बुधबार

देवता खुसी बनाउन मोसो दल्ने चिमखोलाको मौलिक परम्परा

blog

भूमेपूजामा सहभागी चिमखोलावासीहरु एकआपसमा मोसो दलेर रमाइलो गर्दै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, चैत २५ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा सयौं वर्ष पुरानो मौलिक संस्कृति अझै जीवित छ । चिमखोलाका स्थानीयवासीहरुले पुरानो परम्परा अनुसार भूमे पूजा धुमधामका साथ मनाएका छन् । 

चैत महिनाको उजेली मङ्गलबार सेवाङ धुरीस्थित भूमेथानमा विधिपूर्वक पूजा गरेपछि स्थानीयवासीले देवतालाई खुसी बनाउन मोसो र छ्याङका छोक्रा एक–आपसमा दलेर नाचगान गरेका छन् । 

आधुनिकताको प्रभावले लोप हुन थालेका सांस्कृतिक अभ्यासलाई जोगाउँदै चिमखोलाबासीले भूमे पूजालाई सांस्कृतिक उत्सवका रुपमा मनाउने गरेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजाले जानकारी दिनुभयो । 


उहाँले भन्नुभयो,‘‘बाउबाजेको पालादेखि चलिएको परम्परा अझै जीवित छ । मौलिक संस्कृति संरक्षणमा नयाँ पुस्ताले पनि चासो देखाउन थालेका छन् । भूमेपूजाको अवसरमा सहरबजारमा बसोबास गर्ने युवायुवतीहरु पनि गाउँ फर्किएर आफ्नो संस्कृति र परम्परालाई जोगाउन सक्रिय हुन्छन् ।’’पूजामा सहभागी हुन देश तथा विदेशमा रहेका चिमखोलाबासीका साथै छिमेकी गाउँठाउँबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको उहाँले बताउनुभयो । 

भूमे पूजामा सेदो भाकामा गीत गाएर देवीदेवतालाई पुकार्ने परम्परालाई समेत निरन्तरता दिएको चिमखोलाका ८४ वर्षीय ज्येष्ठ नागरिक लबहादुर पुनले बताउनुभयो । भूमे पूजामा विशेष महत्वका साथ गाइने सेदो भाकाको प्रस्तुतीका लागि यस बर्ष ज्येष्ठ नागरिक लबहादुर पुन र पबहादुर तिलिजासमेत भूमेथान पुग्नुभएको थियो । 

भूमेलाई साँडको बलि दिएर पूजा गरेपछि छेमाहरु र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकआपसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने प्रचलन छ। 

गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरुले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद संकलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने गर्छन । छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमेथानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गरी भूमे पूजा गर्ने चिमखोलामा चल्दै आएको परम्परा हो ।  


भूमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ । भूमे पूजाको अवसरमा चिमखोलामा परम्परागत रुपमा मेला लाग्दै आएको छ । 

मेलामा टोपा नाच प्रदर्शन सँगै सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै थाली नाच लगायत मौलिक कला र संस्कृति देखाउने प्रचलन रहेको छ ।