• २५ चैत २०८२, बुधबार

सञ्चारमन्त्री र विश्व बैँकका निर्देशकबिच भेटवार्ता: सूचना प्रविधि क्षेत्रमा सहकार्यको जोड

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गर्नुहुँदै विश्व बैँकका दक्षिण एशिया क्षेत्रका निर्देशक डेभिड सिस्लेनलगायत । तस्बिरः सञ्चारमन्त्रीको निजी सचिवालय

डिजिटल रूपान्तरणका लागि विश्व बैँकको सहयोग

काठमाडौँ, चैत २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा विश्व बैँकका दक्षिण एसिया क्षेत्र अन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका निर्देशक डेभिड सिस्लेनसहितको टोली सहभागी थियो ।

भेटका क्रममा आपसी सहयोगको वर्तमान अवस्था र आगामी सहकार्यका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले विज्ञप्ती जारी गर्दै जनाएको छ । निर्देशक सिस्लेनले नवनियुक्त मन्त्री डा. तिमिल्सिनालाई बधाई तथा शुभकामना दिँदै विश्व बैँकको सहयोगमा कार्यान्वयन हुन लागेको ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ मा सरकारको प्राथमिकताका बारेमा चासो व्यक्त गर्नुभयो । उहाँले सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची कार्यान्वयनमा सो परियोजनाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा सहयोग गर्न विश्व बैँक प्रतिबद्ध रहेको जानकारी निर्देशक सिस्लेनले दिनुभयो ।

सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले विश्व बैँकको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ कार्यान्वयनलाई तीव्रता दिइने बताउनुभयो । नयाँ सरकार गठनसँगै पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “विगतभन्दा फरक ढङ्गले काम गरी विभिन्न योजनामा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।”


भेटवार्तामा मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख आदेश खड्का, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैँकका अन्य पदाधिकारीको समेत उपस्थिति थियो ।