• २५ चैत २०८२, बुधबार

अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ता

blog

तेहरान, चैत २५ गते । अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबिच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विनाशकारी आक्रमणको चेतावनी फिर्ता लिएपछि भएको यस सहमतिले तत्कालका लागि तनाव घटाएको भए पनि क्षेत्रीय अवस्था अझै अस्थिर देखिएको छ ।

निर्धारित समयसीमा सकिन केही घण्टाअघि ट्रम्प प्रशासन युद्धबाट पछि हट्दै वार्ताको बाटो रोजेको हो ।  इरानले पनि युद्धविराम स्वीकार गरेको घोषणा गर्दै पाकिस्तानमा अमेरिकासँग वार्ता अघि बढाउने जनाएको छ । यद्यपि युद्धविराम कहिलेबाट लागु हुन्छ भन्ने स्पष्ट नभएकै अवस्थामा बुधबार बिहानसम्म इजरायल, इरान र खाडी क्षेत्रमा आक्रमण जारी रहे । इजरायलले अमेरिका-इरानबिचको सहमतिलाई समर्थन जनाए पनि लेबनानमा हिजबुल्लाहसँगको लडाइँ यसमा नसमेटिएको स्पष्ट पारेको छ । 

इजरायली पक्षले इरानले आणविक वा क्षेप्यास्त्र खतरा पुनः नउठाउने सुनिश्चिततामा जोड दिएको छ । युद्धविरामको एक प्रमुख अंशका रूपमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सहमति भएको बताइएको छ । यस मार्गमा इरानले आफ्नो नियन्त्रण केही खुकुलो पार्ने सङ्केत दिएको छ, तर पूर्ण रूपमा खुला हुनेबारे अस्पष्टता कायम छ । इरान र ओमानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना पनि अघि आएको छ, जसबाट प्राप्त रकम पुनर्निर्माणमा खर्च गरिने बताइएको छ ।

युद्ध अन्त्यका लागि इरानले अमेरिकी सेना क्षेत्रबाट फिर्ता, आर्थिक प्रतिबन्ध हटाउने र फ्रिज भएका सम्पत्ति फुकुवा गर्ने माग अघि सारेको छ । यसबिच, इरानले प्रस्ताव गरेको १०-बुँदे योजनामा आणविक कार्यक्रम सम्बन्धी भाषा फरक–फरक संस्करणमा प्रस्तुत गरिएकाले थप अन्योल सिर्जना भएको छ । युद्धविराम घोषणा भएलगत्तै तेहरानमा सरकार समर्थक प्रदर्शन चर्किएका छन् । प्रदर्शनकारीले अमेरिका र इजरायल विरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका छन्, जसले देशभित्रको कट्टर असन्तुष्टि झल्काउँछ ।

यसअघि ट्रम्पले सम्झौता नभए इरानी ‘सभ्यता’ नै नष्ट गर्ने चेतावनी दिनुभएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा आलोचना निम्त्याएको थियो । संयुक्त राष्ट्रसङ्घका अधिकारी र कानुनी विज्ञले त्यस्ता सम्भावित आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीत ठहर गरेका छन् । फेब्रुअरीदेखि सुरु भएको द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । इरान, इजरायल, लेबनान र खाडी क्षेत्रमा फैलिएको हिंसाले ठुलो मानवीय र आर्थिक क्षति पुर्‍याएको छ । 

जलडमरूमध्यमा इरानको नियन्त्रणले विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गरेको छ । युद्धविरामको सहमति भए पनि दुवै पक्षबाट आक्रमण पूर्णरूपमा रोकिएको छैन । अमेरिकाले आक्रामक कारबाही रोकेको दाबी गरे पनि रक्षात्मक गतिविधि जारी रहेको जनाएको छ भने इजरायल र इरानबिच प्रत्यक्ष आक्रमण आदानप्रदान भइरहेको छ । कूटनीतिक प्रयास तीव्र भइरहेका बेला दुई हप्ताको यो समयावधि स्थायी समाधानतर्फ जाने अवसर बन्ने वा फेरि द्वन्द्व चर्किने हो भन्ने अझै अनिश्चित छ । रासस/एपी