• १९ जेठ २०८१, शनिबार

धर्मसन्तानका नाममा गैरकानुनी रुपमा लगियाे १४९ बालबालिका विदेशमा

blog

काठमाडौं, साउन ९ गते । धर्मसन्तानका नाममा १४९ बालबालिका गैरकानूनी रुपमा विदेश लगिएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार १४९ बालबालिका धर्मसन्तानका नाममा गैरकानूनी रुपमा विदेशमा लगिएको देखिएको हाे।

सन् २०१० मा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र र धर्मपुत्री व्यवस्थापन समिति गठन गरी १८ देशमा धर्मपुत्र र धर्मपुत्री पठाउन सक्ने व्यवस्था गरेको थियो । तर, मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि विदेशी नागरिकको लागि धर्मपुत्र र धर्मपुत्री ग्रहण प्रतिबन्धित भएकाे हाे।

प्रतिवेदनअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिका, फ्रान्स, नर्वे, डेनमार्क, क्यानडा, स्वीजरल्याण्ड र बेल्जियममा २४ जना बालबालिका धर्मसन्तानको रुपमा लगिएको देखिए पनि अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ती सात देशले नेदरल्याण्डस्मा रहेकाे अन्तर सरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ लाई प्रदान गरिएको सूचीमा १७३ धर्म सन्तान नेपालबाट उक्त देशमा गएको देखिएको हाे।

यही तथ्याङ्कको आधारमा १४९ बालबालिका सरकारी अभिलेखमा नराखी धर्मसन्तान बनाई गैरकानुनी रुपमा विदेश पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अन्य ११ देशमा धर्मसन्तानको रुपमा लगेका बालबालिकाको तथ्याङ्कमासमेत नराखिएको महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा धर्मपुत्र र धर्मपुत्रीको तथ्यांक अभिलेखाङ्कन गर्न आठ लाख बजेट विनियोजन भए पनि खर्च भने नभएको प्रतिवेदनले देखाएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।