• २८ पुस २०८१, आइतबार

प्रदेश नामकरणमा गोप्य मतदानको व्यवस्था गर्न माग

blog

फाइल तस्विर

गोकुल पराजुली

विराटनगर, साउन ८ गते । प्रदेश सभाका सांसद सर्वध्वज साँवाले प्रदेश नामकरणमा मत विभाजन हुँदा गोप्य मदतानको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रदेश सभाको बैठकमा सांसद साँवाले नाम बारेमा पार्टीले एउटा डण्डा चलाउने र जनताले अर्को डण्डा चलाउने अवस्था रहेकाले ज्यान बचाउनै गाह्रो भएको बताउनुभयो ।  

बैठकको शून्य समयमा आफ्नो धारणा राख्नुभएका सांसद साँवाले संसद समक्ष गुहार माग्नुभयो । ‘गुहार.... गुहार... गुहार... हामीलाई बलीको बोका बनाउन खोजियो । हामी खतरामा छौं, हामीलाई बचाउनोस्,’ सांसद साँवाले भन्नुभयो, ‘प्रदेशको नाम ‘कोसी’ राख्न पार्टीले डण्डा चलाउने अनि जनताले पहिचान नराखे देखाइदिने भनिरहेका छन्, हामी घेराबन्दीमा छौं ।’ 

पार्टीले भनेको कोसीलाई नमान्दा भोलि टिकट दिन्न भन्ने र किरात–लिम्बुवान पहिचानलाई नमान्दा जनताले चुनावमा देखाइदिन्छु भन्ने दोहोरो घेराबन्दीका कारण खतरामा परेको उहाँको भनाइ छ । नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद साँवाले नामकरणलाई लिएर सडकमा भएको आन्दोलनबाट पनि आफूहरुलाई समस्या भएको भन्दै गोप्य मतदान वा नामका लागि प्रदेशमा जनमत सङ्ग्रह गर्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो । 

बैठकमा विशेष समय लिएर बोल्नुहुँदै नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामकरणका लागि संसद बाहिर निरन्तर नाराबाजी भइरहेकाले नाममा साझा धारणा बनाउन विलम्ब गर्न नहुने बताउनुभयो । ‘सात प्रदेशमध्ये प्रदेश १ को नामकरण बाँकी छ । बाहिर नाराबाजी भइरहेको छ । हामी दलहरू चुप लागेर बसेका छैनौं,’ उहाँले भन्नुभयो, ‘दलहरुबीचको छलफलमा एकल पहिचान, बहुपहिचान र साझा पहिचान गरी तीन खालका कुरा प्रमुख रुपमा उठेका छन् । छिट्टै सहमतिमा पुगेर सबैलाई मान्य हुने नामको खोजी भइरहेको छ ।’

प्रदेशसभा सदस्य अम्बिका थापाले सरकारी कार्यालयमा कवाडी सामानको थुप्रो लागेपनि बिक्री नभई नोक्सानी भइरहेको भन्दै कानुन बनाएर बिक्री गर्ने वातावरण बनाउन माग गर्नुभयो । 

सांसद इन्द्रमणि पराजुलीले धनकुटामा गठबन्धन सरकारको आतंक बढेको भन्दै विरोध जनाउनुभयो । स्थानीय पालिकामा करारमा नियुक्त भएका कर्मचारीहरु हटाएर स्थानीय पालिकाले सर्वसाधारणको रोजगारी खोस्ने काम गरेको उहाँले बताउनुभयो ।  

सांसद जसमाया गजमेरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको नाममा सार्वजनिक यातायातले जथाभावी भाडा असुलेकाले अनुगमन गर्न आग्रह गर्नुभयो । सांसद विमल कार्कीले प्रधानन्यायाधीश विरूद्धको महाअभियोग अघि बढ्न नसक्नुको कारण माग गर्दै कसैले पनि संविधानको दुरुपयोग गर्न नहुने विचार व्यक्त गर्नुभयो । 

सांसद राजकुमार ओझाले स्वास्थ्य बिमा बापत सेवा लिनबाट जनता बञ्चित भएको सरकारको ध्यानकर्षण गराउँदै सरकारी अस्पतालमा सेवा विस्तार गर्न आग्रह गर्नुभयो । सांसद लोकप्रसाद संग्रौलाले पूर्व–पश्चिम राजमार्गको ठाउँठाउँमा ठूला खाल्डा पर्दा जोखिम बढेको भन्दै त्यसको मर्मत सम्भार गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । 

आइतबारको बैठकमा प्रदेश सञ्चार माध्यमका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६८ मा उठेका प्रश्नहरुको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जवाफ दिएपछि सैद्धान्तिक छलफल सकिएको छ । विधेयकमाथि ७२ घण्टाभित्र संशोधन दर्ता गर्ने समय दिइएको छ । यस्तै पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेश पर्यटन प्रतिष्ठानसम्बन्धी विधेयक प्रदेशसभामा टेवल गर्नुभयो ।